पाल्पा — भौगोलिक विकटताका कारण ठूला अस्पतालसम्म पहुँच नपुगेका बिरामीका लागि पाल्पाको पूर्वखोला गाउँपालिकामा विशेषज्ञ शिविर संचालन गरिएको छ । शिविरबाट ४ सय ५१ जना विभिन्न प्रकारका रोगबाट पीडित बिरामीले फाइदा लिएको पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको विशेषज्ञ स्वास्थ्य शिविरमा ३ सय ५ जना महिला र १ सय ४६ जनाले पुरुषले जाँच गराएका थिए । शिविरमा छालासम्बन्धी विभिन्न रोग भएका १ सय २१ जनाले जाँच गराए । मानसिक समस्या देखिएकाहरु ४१ जनाले जाँच गराएका थिए ।
स्त्री रोगसम्बन्धी ६६ जना, फिजिसियन १ सय ८२ जना र दाँतका बिरामी १ सय ५४ जनाले सेवा लिएको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्र अर्यालले जानकारी दिए । शिविरमा स्त्रीरोग विशेषज्ञ डा. शिला ढकाल, दन्तरोग डा. सृष्टि जीसी, डा. प्रविना कँवर, डा. दुर्गा सुर्खाली, मनोपरामर्शदाता शान्ति कामुलगायत दर्जन बढी चिकित्सकले सेवा दिएका थिए । शिविरमा रिङ्नेरह, ज्यामिरे, जल्पा, बीरकोट, देवीनगर लगायतका स्थानबाट विशेषज्ञ सेवा लिन बिरामीहरु आएका थिए । 
पूर्वखोला गाउँपालिकाको समन्वयमा भएको शिविरमा आले भूपू सैनिक डेन्टल प्रालि र सीएमसी नेपालको विशेषज्ञ चिकित्सकको व्यवस्थापन गरेका थिए । शिविरमा विभागीय मन्त्री खेम सारुले भौगोलिक विकटता र विपन्नताका कारण जिल्ला र प्रादेशिक अस्पतालमा जान नसक्नेहरुका लागि यो शिविर महत्वपूर्ण भएको बताए ।
गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले विशेषज्ञसहितको स्वास्थ्य शिविरले उपचार लिन जान नसक्नेहरुका लागि फाइदा पुगेको बताए ।
