बुटवल — प्रहरीले विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलको टोलीले चौधरीलाई बुटवलबाट पक्राउ गरेको हो।
बलात्कृत युवती र उनको परिवारको पहिचान सार्वजनिक गरेको अभियोगमा पीडित पक्षले जाहेरी दिएपछि चौधरीविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार इलाका प्रहरी कार्यालय बुटवलको टोलीले चौधरीलाई पक्राउ गरेको हो।
पक्राउ पुर्जी जारी भएपछि चौधरी फरार थिए। उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। रुपन्देही जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको थियो। चौधरीलाई पक्राउ गरी बुझाउन इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो।
