रोल्पामा विद्यालय परिसरभित्र सकेट बम फेला, सेनाद्वारा डिस्पोज

जेष्ठ ६, २०८२

काशीराम डाँगी

Socket bomb found inside school premises in Rolpa, disposed by army

रोल्पा — रोल्पाको दहवन नजिकै रहेको एक विद्यालय परिसरभित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला भेटिएको छ । प्रहरीले निकै पुरानो देखिने सकेट बम त्रिवेणी गाउँपालिका-२ नुवागाउँको भगवती माविको क्षेत्रभित्र भेटिएको जनाएको छ ।

प्रहरीका अनुसार सोमबार दिउँसो पौने १ बजे विद्यालयका लागि नयाँ भवन बनाउने उद्देश्यले जग खन्ने क्रममा बम भेटिएको र मंगलबार मध्याह्न सेनाको टोलीले डिस्पोज गरेको हो । घटनापछि नुवागाउँ प्रहरी चौकीबाट र होलेरीस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली पुगेको थियो । लिवाङस्थित सूर्यदल गणबाट खटिएको नेपाली सेनाको डिस्पोजल टोलीले दुईवटै बम डिस्पोज गरेको हो । सेनाले बम डिस्पोज गराउन सेनानी शंकर थापाको नेतृत्वमा टोली खटाएको थियो । अनुसन्धान गर्न र बम डिस्पोज गर्न सेना र प्रहरीलाई एक दिन लागेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईंले दहवनमा शान्ति प्रक्रियाका क्रममा ती सकेट बम राखिएको हुन सक्ने बताए । त्यसबेला दहवनमा माओवादी लडाकुको पाँचौं डिभिजनको मुख्यालय रहेको थियो । लडाकु समायोजनपछि उक्त स्थानमा नेपाली सेनाको एक गुल्म पनि बसेको थियो । बम भेटिएको उक्त विद्यालय दहवन नजिकै छ ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully