तुलसीपुर र घोराहीका ग्रामीण क्षेत्र जोड्ने सडक शिलान्यास

जेष्ठ ६, २०८२

दुर्गालाल केसी

Foundation laying of road connecting rural areas of Tulsipur and Ghorahi

दाङ — तुलसीपुर र घोराही उपमहानगरपालिका ग्रामीण क्षेत्र जोड्ने सडकको मंगलबार शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमाले महासचिव शंकर पोखरेल, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी र लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले संयुक्त रूपमा सडकको शिलान्यास गरेका हुन् ।

उक्त सडकले तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १८, १६, १५ हुँदै घोराही उपमहानगरपालिकाको वडा नम्बर ९ लाई जोड्नेछ । बिजौरी, बाँसडबरा, जमुनी, लक्ष्मीपुर, दक्षिण कुरहरिया, कन्जवार र कोठरी जोड्ने यस सडकको लम्बाइ १५.५८ किलोमिटर रहेको छ । 

२०८१ चैत ११ मा काम सुरु भई २०८३ चैत ११ मा योजना सम्पन्न गर्ने सम्झौता भएको लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले बताए । कालोपत्र सडक निर्माणका लागि ४४ करोड ८ लाख ७७ हजार ७ सय १५ रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए । सडक शिलान्यास गर्दै पोखरेलले घोराही–तुलसीपुर फोरलेन सडक र टरिगाउँ विमानस्थल धावनमार्ग विस्तारका लागि बजेट विनियोजन हुने आश्वासन दिए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully