बर्दिया — बाँसगढी नगरपालिका कतरनियाको धधवारदेखि ठाकुरबाबा नगरपालिका खैलारघाटसम्म करिब २२ किमी पक्की सडकको सोमबार शिलान्यास गरिएको छ ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वधार विकासमन्त्री भूमीश्वर ढकाल र सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
२०८४ असार २० गते सम्पन्न हुने उक्त सडक ५ दशमलव ५ मिटर चौडाको हुने सडक पूर्वधार विकास कार्यालय बर्दियाका प्रमुख गोविन्दबहादुर महत्रा क्षेत्रीले बताए । उक्त सडकको निर्माण ओसिस इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले लिएको छ । ५३ करोड ७६ लाख २९ हजारको लागतमा अफसाल प्रविधिबाट कालोपत्र हुने प्रमुख क्षेत्रीले जनाए ।
यसैगरी मन्त्री ढकालले बारर्दिया–१० स्थित बैदा, भादा खोलामा ३० मिटर लामो पुलको शिलान्यास गरेका छन् । उक्त पुल ७ करोडभन्दा बढीको लागतमा ०८३ साल असार १९ गते निर्माण सम्पन्न हुनेछ । पुलको ठेक्का एनएस इन्फास्ट्रकचर प्रालिले लिएको छ । पुलको चौडाइ ३० मिटरको छ । पुल निर्माण भएपछि यस क्षेत्रका दर्जनभन्दा बढी गाउँ लाभान्वित हुनेछन् ।
