सत्यवतीमा चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स संचालन

जेष्ठ ५, २०८२

सन्तोष महतारा

Operation of agricultural ambulance with moisture facility in Satyavati

गुल्मी — गुल्मीको सत्यवती गाउँपालिकाले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स संचालनमा ल्याएको छ। गाउँमा उत्पादन भएका कृषि उपज तथा पशुजन्य उत्पादनको सहज बजारीकरणका लागि चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स संचालनमा ल्याएको हो।

आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा ३४ लाख रुपैयाँ लागतमा कृषि एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले बताए ।

कृषि एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकारलाई रकम माग गरेकोमा दुई एम्बुलेन्स खरिदका लागि रकम आए पनि फिर्ता भएपछि एम्बुलेन्स खरिद गर्न नपाएको पाण्डेले बताए । २०८०/०८१ को अन्त्यतिर रकम आएपछि साझेदारीमा एक एम्बुलेन्स खरिद गरिएको उनले बताए । गत असोजमै एम्बुलेन्स आए पनि व्यवस्थापन प्रक्रिया मिलाउँदा हालै मात्र संचालनमा ल्याएको अध्यक्ष पाण्डेले बताए ।

सत्यवती गाउँपालिकाले किसानका उत्पादन हाल बुटवलमा बजारीकरण गर्दै आएको छ । एम्बुलेन्स सहज व्यवस्थापनका लागि पालिका स्तरमा थाप्ले सत्यवती कृषि बजार समिति र वडा स्तरमा उपसमिति गठन गरिएको छ ।

सुविधाजनक उक्त चिस्यानसहितको एम्बुलेन्समा १५ क्विन्टलको क्षमता रहेको छ । मूल्य निर्धारण गरी किसानका उत्पादन खरिद र बजारीकरण गरी एम्बुलेन्स चलाउने व्यवस्थापन गरिएको थाप्ले सत्यवती कृषि बजार समितिका अध्यक्ष नरबहादुर पुलामीले बताए ।

सत्यवतीमा ९ सय किसान ६० वटा समूहमा र १ हजार किसान एकल रूपमा व्यावसायिक कृषिमा सक्रिय रहेको तथ्याङ्क पालिकासँग छ । कृषि उपजसँगै तरकारी, फलफूल, माछा, मासु, अण्डा र दुग्धजन्य पदार्थबाट किसानले आम्दानी गर्दै आएका छन् । अघिल्लो वर्ष मात्रै १ सय टन भन्दा बढी उत्पादित बस्तु सत्यवतीले बजार पुर्‍याएको थियो ।

किसानका उत्पादनलाई बजार पुर्‍याउने सुविधासहितको एम्बुलेन्स संचालनलाई दिगोपना दिन समिति बनाएर अगाडि बढेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए । ‘हाम्रो नयाँ अभ्यास हो, बजारीकरणले किसानलाई धेरै राहत भइरहेको छ,’ उनले भने, ‘यसलाई सधैँ चलाइरहन र किसानलाई प्रोत्साहन गर्न सदैव लाग्नेछौँ ।’

सन्तोष

Link copied successfully