स्रोत नखुलेको २ लाख भारुसहित सुनचाँदी कारोवारी पक्राउ

जेष्ठ ५, २०८२

मनोज पौडेल

Gold and silver traffickers arrested with 2 lakhs of undisclosed source

कपिलवस्तु — स्रोत नखुलेको करिब २ लाख भारतीय रुपैयाँ र चाँदीसहित २ सुनचाँदी कारोवारी सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु सदरमुकाम तौलिहवाको ठूलामा अशोक जेवर भण्डार संचालन गरिरहेका ३४ वर्षे राहुल बर्मा र भारतको उत्तर प्रदेश सिद्धार्थनगर थाना उस्का बजारका ७८ वर्षीय ओम प्रकाश रहेका छन् ।

प्रहरी निरीक्षक माधव विश्वकर्माको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा कपिलवस्तु नगरपालिका–१, मस्जिद टोलमा भारतीय नागरिक ओमप्रकाशसँग १ लाख ९६ हजार भारु र ५ सय ६२ ग्राम चाँदी बरामद गरेको हो ।

सोधपुछका क्रममा ओमप्रकाशले उक्त रकममध्ये ९७ हजार ३ सय कपिलवस्तु नगरपालिका–१ चोकबजारका राहुल बर्माको भएको प्रहरीलाई बताएका थिए । यसपछि बर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी मोहनमणी अधिकारीले बताए ।

पक्राउ परेका ओमप्रकाशले तौलिहवाका सुनचाँदी व्यापारीलाई भारतबाट सुनचाँदी किनेर तौलिहवामा बेच्ने गरेको व्यवसायी स्रोतले जनाएको छ । बरामद नोटमा नेपालमा प्रतिबन्धित भारतीय ५ सय दरका ३ सय ९२ थान रहेका छन् ।

मनोज पौडेल

Link copied successfully