चरेससहित रोल्पामा चारजना पक्राउ

जेष्ठ ५, २०८२

काशीराम डाँगी

Four arrested in Rolpa with hashish

काठमाडौँ — लागुऔषध चरेस राखेको आरोपमा प्रहरीले रोल्पामा चार जना युवालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा प्रहरीले पश्चिम रोल्पाको माडीको घर्तीगाउँबाट चरेससहित ती युवालाई शनिबार राति पक्राउ गरेको हो ।

माडी गाउँपालिकाको केन्द्र घर्तीगाउँस्थित हिलसाइड अटो वर्कसपमा लागुऔषध चरेस लुकाइराखेको सूचनाको आधारमा ती युवाहरूलाई खोज्न थालिएको र पक्राउसमेत गरिएको प्रहरीले जनाएको हो ।

शनिबार राति १० बजेदेखि उनीहरूलाई नियन्त्रणमा लिन प्रयास गरिएको थियो । पक्राउ पर्नेमा माडी गाउँपालिका-२ घर्तीगाउँ बजारमा कोठा भाडामा लिएर हिलसाइड अटो वर्कसप सञ्चालन गरिरहेका दाङको लमही नगरपालिका-५ कोइलाबास रोड निबासी ३१ वर्षीय राजन गुप्ता, रोल्पाको माडी गाउँपालिका- २ पारीबाङ निबासी २२ वर्षीय सुमन बुढामगर, सोही गाउँका २३ वर्षीय लोकेन्द्र बुढामगर र रोल्पाको रोल्पा नगरपालिका-२ मुलपानी टोल निबासी २८ वर्षीय भूपेन्द्र डाँगी रहेका छन् ।

उनीहरू सबैलाई गुप्ताको कोठामा लागुऔषध (चरेस) सेवन गरिरहेको गोप्य सूचना पाएपछि प्रहरीले खोजी खोजतलास सुरु गरेकोमा पक्राउ गरेको थियो । प्रहरीले गुप्ताको कोठाको दराजमाथि कालो प्लास्टिकमा लुकाएर राखेको प्लास्टिकसहित ८.७५ ग्राम र प्लास्टिकबाहेक ६.८२ ग्राम चरेस फेला पारिएको घर्तीगाउँ इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक देवसिंह भण्डारीले बताए ।

उनका अनुसार चरेससहित चारजना युवालाई नियन्त्रणमा लिएर रोल्पा जिल्ला प्रहरी कार्यालयमा थप कारबाहीका लागि आइतबार पठाइएको हो । प्रहरीले रोल्पा जिल्ला अदालतबाट १० दिनको म्याद थपेर पुनः इलाका प्रहरी कार्यालय घर्तीगाउँले नै थप अनुसन्धान गरिरहेको छ । उनीहरूलाई हाल घर्तीगाउँस्थित प्रहरी हिरासतमा राखिएको छ ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully