भैरहवा विमानस्थलमा ‘बम थ्रेट’ सम्बन्धी आपत्‍कालीन उद्धार अभ्यास

जेष्ठ ५, २०८२

दीपेन्द्र बडुवाल

Emergency rescue exercise related to 'bomb threat' at Bhairahawa airport

भैरहवा — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार ‘बम थ्रेट’ सम्बन्धी आपत्कालीन नमुना उद्धार अभ्यास गरिएको छ । कुनैपनि उडानमा बम राखिएको अवस्थामा कसरी विमान, यात्रु र चालक दललाई सुरक्षित रूपमा अवतरण गराउने भन्नेबारेमा उक्त अभ्यास गरिएको थियो । विमानस्थलको दक्षिणपट्टि रहेको उद्धार तथा अग्नि नियन्त्रण परिसरमा यस्तो अभ्यास गरिएको थियो । 

आपत्कालीन अवस्थामा गरिनुपर्ने सबै तयारी पूरा गरेपछि नमुना उद्धार अभ्यास गरिएको थियो । उक्त अभ्यासका लागि सोमबार बिहान विमानस्थल कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै आपत्कालीन अवस्थामा आवश्यक पर्ने सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।

अभ्यासका बेला समन्वय र उद्धारका लागि विभिन्न टोली तयार गरिएको थियो । ती टोलीले आफ्नो जिम्मेवारी कसरी निर्वाह गर्छन् भन्नेबारे देखाइएको थियो । दमकल, एम्बुलेन्स लगायत आपत्कालीन उपकरण तम्तयार अवस्थामा राखिएको थियो । 

अभ्यासका लागि नमुना रूपमा मलेसियाबाट उडान भरेको जहाजमा बम राखिएको 'झूटो खबर' फैलाइएको थियो । उक्त खबरलगत्तै भैरहवास्थित विमानस्थलमा आपत्कालीन अवस्था सिर्जना भएको थियो । आपत्कालीन अवस्था सिर्जना भएपछि विमानस्थल व्यवस्थापनसँगै प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, रेडक्रस, स्वास्थ्यकर्मी उपस्थित थिए । सबै निकायलाई उनीहरूको भूमिका तय गरेर जिम्मेवारी तोकिएको थियो । 

विमानस्थलमा रहेको पुरानो जहाजमा बमको नमुना राखेर आपत्कालीन अवस्थामा कसरी उद्धार र समन्वय गर्ने सकिन्छ भनेर अभ्यास गरिएको थियो । विमानस्थलकै कर्मचारीलाई यात्रु बनाएर उनीहरूलाई सुरक्षाकर्मीले जहाजबाट सुरक्षित रूपमा बाहिर निकालेका थिए । त्यसपछि उनीहरूको स्वास्थ्य र मानसिक अवस्था बुझेर आवश्यक उपचार गरिएको थियो ।

नेपाली सेनाको टोली जहाजमा रहेको बम डिस्पोजल गरेको देखाइएको थियो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक वर्ष यस्तो अभ्यास गर्दै आएको सूचना अधिकारी विनोद रावतले जानकारी दिए । ‘गत वर्ष पूर्ण क्षमतामा आपत्कालीन अभ्यास गरिएको थियो,’ उनले भने, ‘यसपटक आंशिक रूपमा बम थ्रेट आएको अवस्था परिकल्पना गरेर अभ्यास गरिएको हो ।’ 

दीपेन्द्र बडुवाल

Link copied successfully