स्कुटी दुर्घटनामा दुईको मृत्यु

जेष्ठ ४, २०८२

कमल पन्थी

Two killed in scooty accident

बर्दिया — बर्दिया बासगढी नगरपालिका–९ माछागढस्थित पूर्वपश्चिम राजमार्गमा स्कुटी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । स्कुटीमा सवार चार जनामध्ये दुई जना घाइते भएको प्रहरीले जनाएको छ । 

कञ्चनपुर कृष्णपुर नगरपालिका–८ का १८ वर्षीय मिलन सिंहले चलाएको भे १२ प ४२२४ नम्बर स्कुटरमा सवार चारजना घाइते भई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको थियो । उपचारका क्रममा बासगढी–९ का १२ वर्षीय आशिष सिंह र १३ वर्षीय राकेश रावतको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय,बर्दियाका प्रहरी निरीक्षक सुधिर खड्काले जनाए ।

सूचना अधिकारी एवं डीएसपी चक्र डमर पालले उक्त घटनाको पुष्टि गरेका छन् । घटनामा सोही ठाउँका ११ वर्षीय गणेश सिंह गम्भीर घाइते भएको उनले बताए । स्कुटी चालक कञ्चनपुर कृष्णपुर–८ का १८ वर्षीय सिंहको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बासगढी हुँदै बैदीतर्फ आइरहेको भे १ ज १२७२ नम्बरको म्याजिक र विपरीततर्फ जाँदै गरेको भे १ ज १४९४ नम्बरको म्याजिक गाडीबीच छलाउँदा स्कुटर सडकमा पल्टिएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको डीएसपी पालले बताए । 

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुई वटा म्याजिक गाडी, चालक र स्कुटी नियन्त्रणमा लिएको छ । 

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully