रुकुम पूर्वमा प्रदेश सरकारको ‘हिमालय टुरिस्ट हब’ आरम्भ 

जेष्ठ ४, २०८२

महेश केसी

State government's 'Himalaya Tourist Hub' started in Rukum East

रुकुम पूर्व — लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वमा प्रदेश सरकारले ‘हिमालय टुरिस्ट हब’ कार्यक्रम सुरु गरेको छ । जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने योजना अनुरुप सदरमुकाम रुकुमकोटमा आज एक औपचारिक कार्यक्रम मार्फत यसको सुरुवात गरिएको हो । 

रुकुम पूर्वमा पर्यटकीय पूर्वाधार निर्माण गर्दै समग्र प्राकृतिक तथा साास्कृतिक क्षेत्रलाई समेटेर स्थानिय तह र निजी क्षेत्रसंग समन्वय र सहकार्य गर्दै जिल्लामा पर्यटकीय गतिविधि अघि बढाउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताईएको छ । 

लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले कार्यक्रममा ६ बुँदे प्रतिबद्धता प्रस्तुत गर्दै विभिन्न योजना अघि सारेका छन् । उक्त योजनाहरूमा स्तरीय होटेल सञ्चालन, पर्यटन सूचना केन्द्र र कोसेली घर सञ्चालन, पर्यटकीय पदमार्ग निर्माण, पर्यटकीय स्थलहरूको प्रचार-प्रसार सामग्री निर्माण, पर्यटन विकास परिषद् र टुर गाइड र हस्पिटालिटी तालिम दिने, सानीभेरी नदीमा र्‍यापटिङ सञ्चालन तथा तीनै तहका सरकारको सहकार्यमा पर्यटकीय पूर्वाधार निर्माण गर्ने रहेका छन् । 

State government's 'Himalaya Tourist Hub' started in Rukum Eastप्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आयोजना तथा रुकुम पूर्वको सिस्ने गाउँपालिकाको कार्यालय सहजीकरणमा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा आफ्नो कुरा राख्ने सरोकारवाला सबैले जिल्लाको पर्यटन विकासका लागि प्रदेश सरकारले थालेको यस प्रकारको प्रयास सुखद भएको तर पर्यटनमा कुरा धेरै काम कम भएको भन्दै यससँग सम्बन्धित भौतिक विकासमा जोड दिन प्रदेश सरकारलाई अनुरोध गरेको थिए । कार्यक्रममा जिल्लाका तीन वटा गाउँपालिकामध्ये भुमे र सिस्नेका अध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायी, पर्यटन क्षेत्रका जानकार एवं विभिन्न सरोकारवालाको उपस्थिती रहेको थियो । 

साथै यस अवसरमा जिल्ला सदरमुकाम सिस्ने–५ रुकुमकोटमा अवस्थित कमल तालको छेउमा जिल्लाका पर्यटकीयस्थल समेटिएको होर्डिङ बोर्डसमेत राखिएको छ । लुम्बिनी प्रदेशभित्र रहेका जम्मा १२ वटा जिल्लामा उक्त जिल्लाको वस्तुस्थिति हेरेर व्यावसायिक पर्यटन विकासका लागि यस प्रकारका विभिन्न कार्यक्रम अघि बढाउने योजनाअनुसार आफूहरू अघि बढेको आयोजक मन्त्रालयका सचिव गौतमले जनाए । 

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully