अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारबाट आगामी वर्षको विनियोजन बजेटमा साना र टुक्रे योजनालाई निरुत्साहित गरिने बताएका छन् । उनले साना र टुक्रे योजनालाई स्थानीय सरकारले समेट्ने, मझौलालाई योजना प्रदेश सरकारले र ठूलो योजनालाई संघ सरकारले समेट्ने गरी तीन तहले बजेट ल्याउनुपर्ने बताए ।
पूर्वपश्चिम राजमार्ग दाङको धानखोला–अर्घाखाँची सिद्धाराको देउराली–हर्रे र सन्धिखर्क–गोरुसिंगे सडकको चक्लामा जोड्ने मोटरबाटो कालोपत्रको शनिबार शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले यो सडकले अर्घाखाँचीको दुर्गम शितगंगाको आधा भेगलाई प्रदेश राजधानीसँग जोडिने बताए । उनले प्रदेश सरकारले परिणाम देखिने खालका योजनालाई बजेट छुट्ट्याएर जनमुखी योजना ल्याउने गृहकार्य भइरहेको बताए । ‘गाउँ–गाउँमा पुगेका कच्ची सडक अब कालोपत्र हुँदैछन्,’ उनले भने, ‘कालोपत्र सडक बाह्रै महिना चल्छ, अब गाउँबाट गाडीमा खसीबोका, कुखुरा, राँगा, बंगुर, अण्डासहित तरकारी र खाद्यवस्तु बजारमा पठाउनुपर्छ र कृषि उद्य्मबाट युवाहरु स्वरोजगार बन्नुपर्छ । कृषि उद्यमका लागि प्रदेश सरकारले कृषि उत्पादन वृद्धि गर्ने खालका कार्यक्रम र बजेटमा सहयोग गर्छ ।’ यो सडक शितगंगा नगरपालिकाको वडा ९, १० र ११ का स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्नेछ । उनले गाउँको विकासमा तीनै तहले समन्वय गरेरै आर्थिक समृद्धिबाट सम्पन्न गर्नुपर्ने बताए ।
विकासको मूल आधार सडक भएकाले आफ्नो गाउँका सडकलाई स्थानीयले संरक्षण गर्नुपर्ने र प्रदेश सरकार नागरिकको जीवनस्तर माथि उकास्न योजनाबद्ध रुपमा लागेको उनको दाबी छ ।
