नरपानी : खोसिएको सदरमुकाम, जम्न थालेको पर्यटन  

जेष्ठ ४, २०८२

वीरेन्द्र केसी

Narapani: Headquarter taken away, tourism started freezing

अर्घाखाँची — पूर्णबहादुर चुँदाली गिद्ध बस्ने डाँडा, गाईभैंसी चराउने वन, भैंसी पोखरी र काँडासहितको जंगल क्षेत्र नरपानीको पर्यटनमा कायाकल्प सम्झेर मात्रै पनि अचम्म मान्छन् । दुई अग्ला पहाडको फेदीमा अवस्थित सानो गाउँ पैयाँपाटामा २०१३ सालमा जन्मिएका चुँदालीको जीवनकालमै नरपानी फेरिएर पर्यटकीय गन्तव्य बन्यो । उनी १३ वर्ष पुग्दा २०२६ सालमा नरपानीमा अर्घाखाँची जिल्लाको सदरमुकाम स्थापना भयो । 

जिल्ला पञ्चायत, सीडीओ कार्यालय, मालपोत, वन, ठाना (प्रहरी), हेल्थपोस्ट, कारागार व्यवस्थापनसहितका कार्यालय स्थापना भए । १६ वर्षको उमरै सीडीओ कार्यालयमा पिएन (कार्यालय सहयोगी) जागिर खाए । सानो गाउँमा नयाँ घरहरू थपिँदै गर्दा सहरउन्मुख बन्दै थियो । राजनीतिक दाउपेचमा परेर सदरमुकाम धेरै वर्ष टिकेन । उत्तर क्षेत्र वाङला, अर्घा, बाँगी, किमडाँडालगायतका ठाउँका नेताले शक्तिको बलमा ०३२  सालमा नरपानीबाट सदरमुकामलाई सन्धिखर्कमा सारेको उनले बताए । त्यतिबेला कार्यालयका बोर्ड, सामान उत्तरखाँचीका गाउँलेले जबरजस्ती उठाएरै डोकोमा बोकेर लगेका थिए । ठूलो शक्तिका सामु सानो गाउँ नरपानीका स्थानीयको केही लागेन । 

‘सदरमुकाम सरेपछि फेरि सुनसान बन्यो, खुलेका खाजा, खाना र चिया पसल बन्द भए,’ चुँदालीले भने, ‘सहर बन्दै गरेको नरपानी गाउँमा खुम्चियो ।’ अहिले उनी कार्यालय सहयोगीबाट अवकास पाएपछि सन्धिखर्कबाट फर्केर जन्म ठाउँ नरपानीस्थित पैयाँपाटा टोलमा किराना पसल सञ्चालन गरेका छन् । उतिबेला अत्यधिक चिसोबाट जोगिन यहाँका स्थानीयले पुसदेखि फागुनको पहिलो सातासम्म तराईमा गाईभैंसी लगेर बस्थे । नरपानीबाट पैदल हिँडेर तराई (कपिलवस्तु) आउजाउ गर्न तीनदिन लाग्थ्यो । त्यो झाडीसहितको जंगल अहिले उनकै आँखा अगाडि नरपानीको स्वरूप फेरिएर पर्यटकीय गन्तव्य बनेको छ । 

Narapani: Headquarter taken away, tourism started freezingपूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको गोरुसिंगेबाट पुरानो सदरमुकाम नरपानी हुँदै सन्धिखर्कसम्म सडक जोड्न स्थानीयले वर्षौंसम्म ठाउँ बाँडेरै कोदालो, गैंती, बेल्चाले बाटो खनेका थिए । ०१४ सालदेखि कोदालोले खन्न सुरु गरेको सन्धिखर्क–गोरुसिंगे सडक ०४० सालमा पूरा भएर ०४३ मा पहिलो पटक जिल्लामा ट्याक्टर भित्रिएको उनले बताए । ‘उतिबेलाका गाईभैंसी चराउने पखेरा, कुवा र डाँडा त अहिले हेर्दाहेर्दै पर्यटकीय गन्तव्य बने,’ चुँदालीले भने, ‘घाँस नउम्रने, खेती राम्रो नहुने गिद्ध बस्ने डाँडामा अहिले पर्यटक घुम्छन्, बस्छन् । बिक्री नहुने बारी र खर्‍यानमा अहिले रिसोर्ट बन्दैछन्, जग्गाको भाउ पनि महँगो छ ।’ भैंसीले पानी खाने कुवा अहिले गंगासरोवर बन्यो ।  भैंसी चराउने चौर अहिले पर्यटक नाच्ने, फोटा खिच्ने स्थान बनेको उनले बताए । अवस्थापछि घरमै सञ्चालन गरेको किराना पसलको सामान रिसोर्ट तथा होटलमा निर्यात हुने गरेको उनले बताए । 

खाँचीकोट गाउँमा प्रितम थापा नरपानीमा सदरमुकाम आउँदा स्कुले विद्यार्थी थिए । पञ्चायतदेखि गणतन्त्रसम्म जनप्रतिनिधिका रूपमा काम गरेका थापाले नरपानीको जंगल, डाँडाकाँडा पर्यटकीय गन्तव्य बन्नुको मुख्य कारण सुपा देउराली मन्दिर र सन्धिखर्क–गोरुसिंगे सडक भएको बताउँछन् । सुपा देउराली–नरपानी करिब दुई किलोमिटरको दूरीमा छ ।  उनका अनुसार धेरै वर्ष पहिलेदेखि नरपानी नजिकैको सुपा खोला किनाराको खोपीमा सुपा देउरालीको पूजा गरिन्थ्यो । पैदलयात्रा गर्दा ढाक्रेले खोपीमा पूजा गर्ने गर्दथे । ०४० सालमा बल्कोटका बाबुराम रायमाझीले सडक छेउमा मन्दिर बनाइदिए । थापा त्यही मन्दिर व्यवस्थापन समितिको अध्यक्ष चुनिए । ०३९ सालमा वडाध्यक्ष, ०४४ मा उपप्रधानपञ्च, ०४८ कार्यवाहक गाविस अध्यक्ष र ०७४ मा वडाध्यक्षमा निर्वाचित थापाले ४० वर्षसम्म निरन्तर सुपा देउराली मन्दिरको अध्यक्ष भएर व्यवस्थापनको काम गरे । 

सन्धिखर्क–गोरुसिंगे सडक छेउमा भएकाले यात्रुले गाडी रोकेरै मन्दिरमा फूल भेटी चढाएर दर्शन गरी आवतजावत गर्न सुरु गरे । ०६५ सालमा बाँगीमा जन्मिएर काठमाडौं बस्दै आएका बाबा नरनारायणले प्राचीन शैलीमा आधुनिक मन्दिर निर्माण गरिदिएपछि सुपाको महिमा र तीर्थालुको आकर्षण बन्यो । मन्दिरमा चढाएको प्रसाद ग्रहण गर्ने थलो नरपानी बन्यो । ‘तराईमा ४०/४५ डिग्री तापक्रम हुँदा नरपानीमा २७/२८ डिग्री तापक्रम हुन्छ,’ थापाले भने, ‘सधैँ चिसो हावापानी, पहाडको हरियाली सुन्दर वातावरण छ । जहाँ तराई र भारतबाट शितल ताप्न नरपानी आउनेको ताँती नै छ ।’  

Narapani: Headquarter taken away, tourism started freezingपर्यटनबाटै युवालाई स्वरोजगारलाई सार्थक बनाउन सरकारले नरपानीमा गुरुयोजना बनाएरै संरचना निर्माण गरी व्यवस्थित गर्नुपर्नेमा उनको जोड छ । नरपानी, खाँचीकोट, जगत, घुम्तीका गाउँले आर्थिक अवस्था फेरिँदै गएको छ । ‘तरुल, सख्खरखण्ड, स्कुस सहित तरकारी बिक्री भएको छ,’ पूर्ववडाध्यक्ष थापाले भने, ‘सिस्नो, काफल, आरु बखडा, फलफुल तरकारी बाह्रै महिना बेच्ने गर्छन् । गाउँका मान्छेलाई आयआर्यजनको स्रोत बनेको छ ।’ वर्षमा दुई/चार लाख रुपैयाँ आम्दानी भएपछि पाखाबारी बाँझा छैनन् । अन्नबाली तरकारी खेती उत्पादन छ । बसाइँसराइ अन्यत्रभन्दा यहाँ निकै कम भएको उनले बताए । ‘गर्मी छल्ने गन्तव्य नरपानीको भविष्य उज्ज्वल छ,’ उनले भने, ‘सुपा देउराली मन्दिरदेखि नरपानी–खाँचीकोटसम्म साहसिक पर्यटकीय संरचना निर्माण गर्नुपर्छ । जहाँ पर्यटक बास बसून् ।’ भारतको नैनीताल, देहरादून, यूपी, बिहारका पर्यटक हरेक वर्ष बढ्दो रहेको उनले बताए छ । 

‘नरपानीबाट सन्धिखर्क सदरमुकाम गरेपछि ४० वर्षसम्म सुनसान रह्यो,’ थापाले भने, ‘पाँच/छ वर्षयता नरपानीमा पर्यटकको खचाखच चहलपहल भएको छ । कुनैबेला बिक्री नहुने पाखो जग्गाको मूल्य पनि बढेर अहिले हातको दुई/तीन  लाख रुपैयाँ पर्छ ।’ नरपानीमा पिकनिक स्पोटले गर्दा खाँचीकोटतिर पनि बढ्दो छ । हिलस्टेसनका रूपमा विकास हुने क्रममा छ । बाटोको सुविधा छ । प्यूठानको स्वर्गद्वारी-सुपादेउराली रुटमा दैनिक आठ/दसवटा आवतजावत चल्छन् । यहाँ गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडी हुँदै पाल्पा रानीमहल पानी आउजाउ दैनिक जसो भइरहन्छ । ०६५ सालतिर नरपानी पहाडमा ढुंगा उत्खनन् गर्न सुरु भयो । केही वर्षपछि खानेपानीका मुहान सुके । स्थानीयले विरोध गरेपछि अहिले ढुंगा उत्खनन् कार्य बन्द छ । 

उतिबेला मान्छेले खनेरै निर्माण गरेको मोटरबाटो चार दशकपछि सन्धिखर्क–गोरुसिंगे सडक खण्ड फराकिलो बन्दै डबल रोड निर्माण भइरहेको छ । पर्यटकहरू अझै पनि बास बस्ने राम्रो सुविधाका होटलको अभाव नै छ । 

पर्यटकलाई पारिवारिक माहोलमा बसाल्न नरपानीदेखि दुई किमीको दूरी पोखेडाँडामा सन्धिखर्क नगरपालिकाले ४० वटा होमस्टे (घरबास) निर्माण गरेर सञ्चालनमा ल्याएको छ । ‘घुम्न आउने पर्यटक सस्तो र पारिवारिक वातावरणमा बस्न होमस्टे सञ्चालन भएका छन्,’ सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष श्रीधर महत्रा क्षेत्रीले भने, ‘पछिल्लो पाँच वर्षदेखि धेरै पर्यटक भित्रिन थाले । गाउँले खानाका परिकार र स्वादमा मन पराएर होमस्टेमा पाहुना बस्छन् ।’ घरका सबै परिवारले काम पाएका छन् । कुखुरा, खसीबोका, दूधका लागि गाईभैंसी, ताजा तरकारी, अन्न उत्पादन गर्दा गाउँलेले स्वरोजगार बनाइने उनको भनाइ छ । नरपानी क्षेत्रमा करिब दुई सय जति साना ठूला गरी होटल, रेस्टुरेन्ट, चिया पसलहरू छन् । पर्यटन व्यवसाय बढ्दो छ ।

Narapani: Headquarter taken away, tourism started freezingनरपानीका प्रितम केसीले घरमा लोकल कुखुरा, खसीबोका उत्पादन गर्न बाख्रापालन र बारीमा बेमौसमी तरकारी खेती गरिहेका छन् । उत्पादन गरेको सबै बस्तु बजारमै बिक्री हुन्छ । घुम्न आएका केही पर्यटक घरघरमा स्थानीय उत्पादन के छ भनेर खोज्दै हिँड्ने गरेको उनले बताए । ‘अब पर्यटकलाई भुलाउनका लागि राज्यले पूर्वाधार निर्माण गर्नुपर्छ,’ उनले भने, ‘घरघरमा होमस्टेको अवधारणा स्थानीय सरकारले ल्याउनुपर्छ । थप व्यवस्थित गर्नुपर्छ ।’

सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले नरपानी क्षेत्र तराई र भारतको गर्मी छल्ने गन्तव्य भएकाले एउटा धर्मशाला निर्माण गरेर आएका पाहुनालाई बस्ने खाने व्यवस्था गर्न संघीय र प्रदेश सरकारसँग बजेट माग गरेको बताए । ‘नर्तनाञ्चल पर्वत, खाँचीलेकमा पुर्‍याउन पदमार्ग र गाडीमार्ग बनाउनुपर्छ,’ उनले भने, ‘सुपा देउरालीमा आएका तीर्थालु र नरपानीमा आएका पर्यटकलाई यहीँ बास बसाल्ने र जिल्लाका अन्य पर्यटकीय स्थलमा घुमाउन सकिए पर्यटन क्षेत्रबाट अर्घाखाँची अवस्था बदलिन सक्छ । पोखेडाँडामा ४० घरमा होमस्टे निर्माण भएका छन्, अब यस क्षेत्रको सबैको घरमा बनाउँछौं ।’ नरपानी पर्यटनसँगै जडिबुटी क्षेत्र पनि हो । नरपानी डाडाँमा धार्मिक व्यक्ति नारायण खनालको अगुवाइमा डेढ सय स्थानीय गाई संरक्षण गरी पालिएको छ । केही पर्यटक गौशालामा पुगेर गाईको दर्शन गरी फर्कन्छन् । 

वीरेन्द्र

Link copied successfully