दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन् । धानखोला देउराली-हर्रे-चाक्ला मोटरबाटो कालोपत्र शुभारम्भ कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकास निर्माणका कामलाई योजनाबद्ध रूपमा अघि बढाउन प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारे ।
उनले प्रदेश सडक गुरुयोजना निर्माण गरिएको र सोही प्राथमिकताको आधारमा सडक क्षेत्रमा लगानी गरिने जानकारी दिए । `परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन । साना र टुक्रे योजनालाई निरुत्साहित गर्न थालेका छौँ,´उनले भने, `साना सडकमा स्थानीय सरकारले लगानी गर्ने र मझाैला सडकमा प्रदेश सरकारले लगानी गरेर सम्पन्न गर्ने नीति लिएका छौँ ।´
मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेशमा करिब ३ हजार सडक छन् । अहिले तीमध्ये ७ सय सडकलाई प्रदेश सरकारले हेर्नेगरी योजना अघि बढाइएको छ ।
धानखोला देउराली-हर्रे-चाक्ला मोटरबाटो सडकलाई बृहत् सडकको रूपमा प्राथमिकतामा राखिएको र संघीय सरकारसँग समेत पहल भइरहेको जानकारी दिए । उक्त सडक प्रदेश राजधानीसँग जोड्ने सहज मार्गको रूपमा रहने र नागरिकलाई पहुँच सुनिश्चित गर्ने बताए । सरकारले बनाउने पूर्वाधार नागरिकको जीवनस्तर उकास्नका लागि केन्द्रित हुनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए ।
