परासी — वर्षाका कारण सडक चिप्लो भएपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी र पश्चिम नवलपरासीको दाउन्ने खण्डमा यातायात सञ्चालन अवरुद्ध भएको छ । सडक हिलो हुँदा सवारी चिप्लिएपछि दुवैतर्फ यातायात अवरुद्ध भएको हो ।
चिप्लोमा सवारी उकालो उक्लन नसकेपछि अहिले पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले बताए । सडक विस्तारको काम भइरहेको यस खण्डमा चिप्लो सडकमा गिट्टीसमेत नहाल्दा सवारीसाधन सञ्चालनमा असहज हुँदै आएको छ । जसका कारण सयौं यात्रु अलपत्र परेका छन् । प्रशासनले भने दाउन्ने खण्डको यात्रा गर्नुपर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गर्दै आएको छ ।
यो सडकखण्डमा सामान्य वर्षामा पनि सडक हिलो भएर घण्टौं यातायात अवरुद्ध हुने गरेको छ । अहिले पनि पानी परिरहेकाले पानी पर्न रोकिएपछि मात्र यातायात सञ्चालनमा आउनेछ ।
