हुन्डी कारोबारको अभियोगमा भैरहवामा तीन जना पक्राउ 

जेष्ठ २, २०८२

माधव ढुंगाना

Three people were arrested in Bhairahawa on charges of hundi business

भैरहवा — हुन्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकसहित भैरहवाबाट तीन जनालाई पक्राउ गरी कारबाही थालेको छ । उनीहरुको साथबाट प्रहरीले २५ लाख रुपैयाँ भन्दा धेरै रकम समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ का ३८ वर्षीय दिनेश बनिया, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ का ४६ वर्षीय मसिउद्धिन फकिर र भारतको नौतनवा निवासी ५० वर्षीय कृष्ण अग्रहरी रहेका छन् ।

उनीहरूलाई गोप्य सूचनाको आधारमा भैरहवाको दुई अलग स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा डिएसपी सुरज कार्कीले बताए ।

दिनेश बनिया भैरहवाको बैंक रोडबाट पक्राउ परेका हुन् । उनको साथबाट १३ लाख ५० हजार ५० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । मसिउद्धिन फकिर र कृष्ण अग्रहरी सिद्धार्थनगर नपा–१२ बाट पक्राउ परेका छन् । फकिरको साथबाट ३ लाख ८६ हजार २ सय र एक थान मोबाइल बरामद भएको छ भने अग्रहरीको साथबाट ८ लाख ३९ हजार ४ सय ५० रुपैयाँ र एक थान मोबाइल बरामद भएको छ ।

उनीहरूलाई हुन्डी कारोबारको कसुरमा रुपन्देही अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको सूचना अधिकारी कार्कीले बताए । 

माधव ढुंगाना ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully