भैरहवा — बोकाको मासु भन्दै झुक्याएर बाख्राको मासु बिक्री वितरण गरेको आरोपमा बुटवलका एक जना मासु व्यवसायी पक्राउ परेका छन् ।
बुटवल उप–महानगरपालिका–१ जितगढीका ३४ वर्षीय मेराज शाह नामका व्यवसायीलाई ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनले विभिन्न स्थानबाट बाख्रा खरिद गरि घरमैं काटेर मासु पसलमा लगेर घरमै काटेको खसीबोकाको मासु हो भन्दै झुक्याएर बिक्री गर्दै आएको प्रहरीको आरोप छ । यसबारे सूचना प्राप्त भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा डिएसपी सुरज कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार मेराज शाहले घरमै बाख्रा काटेर भुत्ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । यस्तै काटेर फालिएका बाख्राका विभिन्न अंगहरुसमेत फेला परेको उनको भनाइ छ ।
प्रहरीले मेराजको घरबाट ३ वटा बोरामा काटेर टुक्रा बनाएर राखेको ४१ किलो मासु पनि बरामद गरेको छ । डिएसपी कार्कीका अनुसार, शाहमाथि कालो बजारी तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिमको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
