दाङ — जुवा खेलेको आरोपमा प्रहरीले तुलसीपुरमा आठ जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–११ घर भई हाल तुलसीपुर–६ स्थित गुम्राहचोक नजिकै शिव हितानको घरमा कोठा भाडामा लिई बस्ने नरेन्द्र केसीले जुवा खेलाइरहेका छन् भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले बुधबार राति उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जुवा खेलाउने केसीका साथै तुलसीपुर–१० का २४ वर्षीय खुमबहादुर वली, तुलसीपुर–१२ का ३० वर्षीय प्रमोद गिरी, २१ वर्षीय ओमप्रकाश चौधरी, तुलसीपुर–११ का २७ वर्षीय हिमराज शाही, तुलसीपुर–१० का २२ वर्षीय नीराजन खड्का, तुलसीपुर–१३ का २३ वर्षीय अर्जुन विक र तुलसीपुर–१६ का ३२ वर्षीय तिलकराम केसी छन् ।
उनीहरूको साथबाट २६ हजार ८ सय ६५ रुपैयाँ नगद र तास बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताए । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको ठकुरीले जानकारी दिए ।
