तिलोत्तमा — सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । राष्ट्रिय अभिभावक संघ तिलोत्तमाको आयोजनामा बुधबार आयोजित अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाले साँघुरा कोठाभित्र पढाउनुपर्ने सामुदायिक विद्यालयको बाध्यता अन्त्य गरी शैक्षिक अवस्था सुधारमा जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेपाल शिक्षक संघका लेखा समिति संयोजक कुलप्रसाद लामिछानेले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि जनप्रतिनिधि, सरोकारवालाका छोराछोरीलाई सोही विद्यालयमा अध्ययन गराउनुपर्ने बताए । अहिलेको डिजिटल युगमा बालबालिकालाई साँघुरा कोठाभित्र पढाउनुपर्ने सामुदायिक विद्यालयको बाध्यता बुझ्ने, भेगअनुसार विद्यालय पूर्वाधारलाई परिस्कृत गर्दै लैजाने तथा बालबालिकाका लागि सुविधा थप्दै जान सके मात्र शैक्षिक सुधार एवं विद्यार्थी टिकाउन सकिने उनले बताए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिक्षामा सुधार र विकासका लागि पालिकाले ठूलो लगानी गरिरहेको दाबी गरे । विद्यार्थीलाई विद्यालय जानबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले मेयर छात्रवृत्ति कोष, कक्षा ६ सम्मका बालबालिकालाई २५ रुपैयाँका दरले खाजा सुविधा प्रदान गरिरहेको पनि उनले जानकारी दिए । 'शैक्षिक सुधारका लागि बालबालिका स्वयं र अभिभावकसँगै शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘घडी हेरेर पढाउने वातावरण शिक्षकले बन्द गर्नुपर्छ, अभिभावकले बालबालिकालाई समय दिनुपर्छ, पालिकाले लगानी गर्ने कुरामा पछि परेको छैन, विद्यालय शिक्षा सुधारका लागि सबैको प्रयास जरुरी छ ।’
शिक्षक महासंघ रूपन्देहीका सचिव चण्डी पाण्डेले शिक्षकले आन्दोलन गर्नुपर्ने स्थिति आएको अवस्थामा बालबालिकाको शैक्षिक गतिविधि प्रभावित भएको बताए । सरकारले शिक्षकका माग सम्बोधन गर्ने, विद्यार्थीलाई प्रोत्साहन गर्ने हो भने नेपाली पाठ्य विधिले अन्तर्राष्ट्रिय स्तर चुम्न सक्ने उनको जिकिर थियो ।
जिल्ला अभिभावक संघ रुपन्देहीका अध्यक्ष भोजबहादुर बुढाथोकीले प्रविधियुक्त समाज निर्माणले बालबालिकाको पढ्ने शैलीमा परिवर्तन आएको बताए । उनले प्रविधिमैत्री अध्यापन, बालबालिकाको सर्वाङ्गिण विकासका लागि विद्यालय, शिक्षक, अभिभावक र सरकारले सोच्नुपर्ने आवश्यकता औंल्याए । ‘हाम्रो सामुदायिक विद्यालयमा अध्ययनरत बाबुनानीको शैक्षिक विकास निजीको तुलनामा पछाडि रहेको स्वीकार्नैपर्छ,’ उनले भने, ‘हामीलाई प्रविधिका सामग्री, शिक्षकलाई उही अनुसारको तालिम दिएर अघि बढ्न सकियो भने पढाइको गति सुध्रिंदै जानेछ ।’
कार्यक्रममा बालबालिकाको शिक्षा सुधारका लागि कस्ता उपाय अपनाउनुपर्छ भन्ने विषयमा प्रशिक्षक चन्द्र अधिकारीले प्रस्तुति दिएका थिए । उनले शिक्षा सुधार सामान्य विषय नभएकाले यसमा सबै तहको उत्तिकै भूमिका रहने बताए । अन्तर्क्रिया कार्यक्रममा नगरभित्रका २ सय बढी अभिभावक, शिक्षक, सरोकारवालाको सहभागिता थियो ।
