राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने 

वैशाख ३१, २०८२

कमल पन्थी

Rajapur Sugar Factory to start production from November

बर्दिया — बर्दियामा पहिलो पटक ठूलो लगानीमा निर्माणाधीन राजापुर चिनी कारखानाले मंसिरबाट चिनी उत्पादन सुरु गर्ने भएको छ ।

जिल्लाको राजापुर नगरपालिका–५ बदालपुरमा करिब २ अर्ब ५० करोडको लगानीमा चिनी कारखाना निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको जनाएको छ ।

राजापुर सुगर एण्ड केमीकल्स इण्डिष्ट्रिज प्रालिले वार्षिक ३ लाख ३० हजार टन चिनी उत्पादन गर्ने लक्ष्य रहेको छ । चिनी उत्पादनले लुम्बिनी, कर्णाली लगायतका प्रदेशसम्म निकासा हुने छ । 

सुगर एण्ड केमीकल्स इण्डष्ट्रिज प्रालिका महाप्रबन्धक श्रीकृष्ण महतोले चिनी उद्योगमा हाल ५ सय ५० जनाले रोजगारी पाएको बताए । मंसिरबाट उत्पादन सुरु हुनासाथ थप जनशक्ति राख्ने उनले जनाए । 

२१ बिघा बढी क्षेत्रफलमा स्थापना भएको चिनी उद्योगमा मदिराजन्य पदार्थ पनि उत्पादन गर्ने भएको छ । धान उत्पादन हुने यस भेगमा झण्डै १ हजार ५ सय बिघा क्षेत्रफलमा किसानले उखु उत्पादन गर्न थालेका छन् । 

यस बाहेक कैलालीबाट यहा उखु खरिद गरिने भएको छ । महाप्रबन्धक महतोले चिनी कारखानाका लागि ५ हजार बिघामा उखु लगाउन किसानलाई अनुदान दिने बताए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully