गुल्मी — गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गतको निर्माणाधीन सडकखण्ड केही ठाउँमा तीव्र र केही ठाउँमा ठप्प रहेको छ । यो राजमार्गले जिल्लाको पूर्वी रिडीबाट तम्घास हुँदै पश्चिम सिमलटारीबाट सौतामारे छिचोलेको छ ।
गुल्मीमा हाल दुई खण्डमा सडक निर्माणको काम भइरहेको छ । रिडी–तम्घास सडकखण्डको रिडीबाट २५ किलोमिटर रुन्खादहसम्म सडक कालोपत्रे गर्नेगरी काम भइरहेको छ । २०७९ फागुन २६ मा सम्झौता भई २०८२ फागुन २५ मा सक्नेगरी कुल १ अर्ब ५० करोड रुपैयाँमा समान्तर इलाइट जेभीले काम गरिरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर हुमनाथ पौडेलले जानकारी दिए ।
वर्षौंदेखि सुरुवाती चरणको साँघुरो सडकखण्ड रहेको रिडी–तम्घास खण्डको पहिलो २५ किलोमिटर सडकखण्ड हाल ७ मिटर चौडाई हुनेगरी केही बाहेक धेरै ठाउँमा विस्तार गरिएको छ । अघिल्लो हप्तादेखि सडक कालोपत्रे सुरुवात भएको छ ।
सम्झौता अनुसारको कटिङ, नाली, स्टकचर तयार र ग्राभेलका काम अधिकांश ठाउँमा सकिएका छन् । अहिले बलेटक्सार, वीरवास र पानी ट्याङ्की क्षेत्रमा मात्रै काम रोकिएको छ । यस क्षेत्रबाहेक अन्येत्र कालोपत्रेको काम सुरु भएको समान्तर इलाइट जेभीको तर्फबाट कोर्डिनेटर रवि कँडेलले बताए ।
उनले निरन्तर वर्षा नभएमा सडक धमाधम कालोपत्रे हुने बताएका छन् । यस सडकखण्डमा अहिले ९० भन्दा बढी सम्बन्धित प्रविधियुक्त मेसिन र २ सय भन्दा बढी कामदारले काम गरिरहेका छन् । सडक अक्सपाल्ट प्रविधिबाट कालोपत्रे भइरहेको छ ।
रोकिएको काम भिओ स्वीकृत हुनासाथ सुरु हुनेछन् । रिडी–भेडुवा सडकखण्डमा अहिले ६० प्रतिशत भौतिक प्रगति भएको छ । जसमध्येबाट ५४ प्रतिशत वित्तीय प्रगति भएको छ ।
रुरुक्षेत्र, छत्रकोट र गुल्मीदरबार गाउँपालिका छिचोलेको यो राष्ट्रिय राजमार्ग मदन भण्डारी राजमार्गको तीव्र गतिमा भइरहेको निर्माणले यात्रामा थप सहजता ल्याउने अपेक्षा छ । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले सडक कालोपत्रे सुरु भएकोले अबको बर्षायाममा यात्रुले सास्ती खेप्न नपर्ने बताए । ‘सडक निर्माणाधीन हुँदा धेरैले सास्ती पाउनुपरेको थियो,’ उनले भने, ‘अहिले काम रफ्तारमा छ, अब सहज हुन्छ ।’
यता मदन भण्डारी राजमार्गकै गुल्मीको पश्चिम क्षेत्रमा पर्ने सिमलटारी–सौतामारे–मच्छी सडकखण्डको काम ठप्प छ । कूल ३१ किलोमिटरमा काम हुनुपर्ने यो सडकखण्डको गुल्मीमा सिमलटारी देखि सौतामारेसम्म १६ किलोमिटर सडकखण्ड पर्दछ ।
२०७९ कार्तिक ६ मा सम्झौता भई २०८२ साउन ५ मा सक्नेगरि कूल १ अर्ब ४५ करोडमा श्रेष्ठ सक्षम जेभीले निर्माणको जिम्मा पाएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर हुमनाथ पौडेलले जानकारी दिए ।
सम्झौता अनुसार निर्माण सम्पन्न गर्नुपर्ने समय सकिनका लागि २ महिना मात्रै बाँकी छ । तर हालसम्म भौतिक प्रगति भने २६ प्रतिशत मात्रै भएको छ । जसबाट २२ प्रतिशत वित्तीय प्रगति भएको छ ।
पछिल्लो २ महिनामा यो सडकखण्डको कार्य पूर्ण रुपमा ठप्प छ । कार्यालयले पटकपटक ताकेता गरे पनि निर्माण व्यवसायीले काम नगरेको कार्यालयका इन्जिनियर पौडेलले बताए । हाल निर्माण व्यवसायी सम्पर्कविहीन छन् ।
निर्माण व्यवसायीले काम अलपत्र पारेर छाड्दा स्थानीयले निकै सास्ती खेप्नुपरेको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुँवरले बताए । ‘बस्ती र खेतबारी जोखिम साथै सडकमा यात्रुलाई समस्या भएको छ,’ उनले भने, ‘कार्यालय र निर्माण कम्पनीलाई ध्यानाकर्षण गराउँदा पनि काम भएको छैन् ।’
अहिलेको निर्माण व्यवसायीको लापरबाहीले गर्दा सडकखण्ड नजिक पर्ने गाउँबस्ती सखाप हुने स्थितिमा पुगेको उनले गुनासो गरे । यस विषयमा कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराएको तर निर्माण व्यवसायी सम्पर्कमा नआएको गाउँपालिका अध्यक्ष कुँवरले बताए ।
