भैरहवा — कर्तव्य ज्यानमुद्दाका एक प्रतिवादीलाई १९ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको मर्चवारी गाउँपालिका–६ बगौली बस्ने ३५ वर्षीय दशरथ कुर्मी लाई प्रहरीले पक्राउ गरेको हो ।
२०६३ भदौ २८ गते रुपन्देहीको साबिक सिलौटिया गाविस-१ हाल मर्चवारी–४ महादेवाका ३५ वर्षीय पुजारी कुर्मीलाई हत्या गरी फरार भएको अभियोग दशरथ कुर्मीमाथि छ ।
प्रहरीका अनुसार पुजारी कुर्मीको शव २०६३ भदौ ३१ गते धानखेतमा सडेगलेको अवस्थामा फेला परेको थियो । अनुसन्धान क्रममा दशरथ लगायतका व्यक्तिको संलग्नता देखिएको दाबी प्रहरीले गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा डीएसपी सुरज कार्कीले गोप्य सूचनाका आधारमा प्रहरीले दशरथलाई भारतबाट नेपाल घरतर्फ आउँदै गर्दा बाटोबाट पक्राउ गरेको बताए ।
