दाङमा लागूऔषधसहित दुई जना पक्राउ

वैशाख २९, २०८२

दुर्गालाल केसी

Two arrested with drugs in Dang

दाङ — प्रहरीले आइतबार साँझ लागूऔषधसहित घोराहीमा दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका- १४ स्थित मिलनचोकबाट २३ वर्षीय विशाल बुढा मगरलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले बुढा मगरलाई शंकास्पद अवस्थामा हिँडिरहेको देखेपछि खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको पाइन्टको खल्तीमा रातो रङको प्लाष्टिकको तीन वटा पुडियामा बाँधेको खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्लाष्टिकसहित उक्त पदार्थको तौल १ ग्राम र प्लाष्टिक हटाउँदा ६७० मिलिग्राम रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए । यसैगरी घोराही उपमहानगरपालिका-१३ आनन्द नगर टोल बस्ने ५७ वर्षीया नितु आचार्यलाई पनि आइतबार सांझ लागुऔषधसहित पक्राउ गरिएको छ। आचार्यले आफ्नै घरकोठामा मनोद्धिपक पदार्थ ट्रामाडोल कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनको घरमा छापा मारेको थियो।

छापा मार्ने क्रममा भान्साकोठामा लुकाइछिपाइ राखेको अवस्थामा ट्रामाडोल २ पत्ता (२० क्याप्सुल) फेला परेको शाहले बताए । दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully