अर्घाखाँची — गाउँमा उत्पादित दूधलाई संकलन गरी बजारीकरण गर्न पाणिनि गाउँपालिका–३ दुर्गाफाँटमा ४ हजार लिटर क्षमताको अत्याधुनिक चिलिङ सेन्टर स्थापना गरिएको छ ।
गाउँपालिकाको केन्द्र दुर्गाफाँटस्थित पाणिनि दुग्ध सहकारीको भवनमा सेन्टर सञ्चालनमा भएपछि कृषक हर्षित भएका छन् । दूध बजारीकरणको ग्यारेन्टी भएकोले आगामी वर्षदेखि गाउँमा दूध दोब्बर उत्पादन गरी युवालाई स्वरोजगार बनाउने लक्ष्य गाउँपालिकाको छ ।
पाणिनिको दुर्गाफाँट, मैदान, धातीवाङ, पटौटी, पणेना र पोखराथोकमा दूध उत्पादन हुन्छ । यहाँको दूध पाल्पा तानसेन र रुपन्देहीको सालझण्डी निर्यात हुन्छ । दूध गाडीले बजार पुर्याउँछ । यसअघि विभिन्न संकलन केन्द्र र आफू अनुकूल दूधलाई बसबाट बजार पठाउने गरे पनि चिलिङ सेन्टर स्थापना भएपछि सबै दूधलाई यहीँ संकलन गरेर बजारमा निर्यात गरिने पाणिनि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए ।
‘कपिलवस्तुस्थित बहादुरगञ्ज ग्लोबल डेरी उद्योगसँग सम्झौता भएको छ, जति उत्पादन गरेपनि लैजान्छ,’ उनले भने, ‘यसअघि कृषकले आफैं भाडा तिरेर दूध बजार पठाउँथे । अब भाडा तिर्न पर्दैन, सेन्टरमै संकलन हुन्छ ।’ यसले कृषकलाई दूध नबिक्ला कि भन्ने तनाव नभएको र दूध उत्पादन दोब्बर बढाउँदै लैजाने गरी आउँदा वर्ष नीति तथा कार्यक्रमसहितको बजेट ल्याउने उनले बताए । पाणिनि दूध उत्पादनमा राम्रो सम्भावना भएको ठाउँ भएको उनले बताए ।
दूध बजारीकरण प्रवर्द्धन कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश सरकारको ७५ प्रतिशत, पाणिनि गाउँपालिकाको १५ प्रतिशत र स्थानीय कृषकको १० प्रतिशत लगानी सहभागितामा दुर्गाफाँटमा सेन्टरको स्थापना गरिएको उनले बताए । करिब २७ लाख रुपैयाँको लगानी भएको छ । चिलिङ सेन्टरबाट प्रारम्भिक रुपमा दैनिक २ हजार लिटर दूध संकलन गर्ने लक्ष्य छ ।
दूध संकलन, प्रशोधन, भण्डारण र बजारीकरणमा सहजता र स्थानीय किसानलाई लाभान्वित हुनेछन् । पाणिनि गाउँपालिकाबाट वार्षिक झण्डै १२ लाख लिटर दूध उत्पादन हुन्छ । सेन्टरको दुर्गाफाँटमा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले उदघाटन गरेपछि सञ्चालनमा आएको हो ।
पन्थीले वैदेशिक रोजगारीमा भन्दा गाउँमै गाईभैँसी पालेर दूध बिक्री गर्दा मनग्य कमाई गर्न सकिने बताए । ‘तीनै तहको सरकारले कृषिमैत्री बजेट आगामी वर्ष थप आकर्षणको रुपमा ल्याउँछ,’ उनले भने, ‘गोठमा गाईभैँसी थपेर ढुक्कले दूध उत्पादन बढाउनुस्, बजारको चिन्ता नलिनुस्, बजारीकरणको ग्यारेन्टी भैसक्यो ।’
गोठमा गाईभैँसी पालेपछि प्रशस्त गोबर मल हुने र अन्नबाली, तरकारी उत्पादन गर्न सहज हुने बताए । प्रदेश सांसद रामजीप्रसाद घिमिरेले पाणिनि क्षेत्र कृषि उद्यमको लागि राम्रो सम्भावना भएका गाउँपालिका भएको बताए । ‘अब गाउँ–गाउँबाट कृषि क्रान्तिको आवश्यक्ता छ,’ उनले भने, ‘परम्परागत भन्दा आधुनिक तरिकाले कृषि गरेपछि उद्यमी भइन्छ । यसैबाट वैदेशिक रोजागरी र अन्य जागिरबाट भन्दा मनग्य आम्दानी गर्न सकिन्छ, पढेलेखेका युवाले यता ध्यान दिनुपर्छ ।’
कृषकले दूधको सही मुल्य पाएको र बजारको ग्यारेन्टी सहित कृषकसँगको सहकार्यमा प्राविधिक सेवा, खोप अभियान, नश्ल सुधार तथा दूध उत्पादनमा आधारित अनुदानका कार्यक्रम सञ्चालन गरी उत्पादनलाई बढवा दिइएको पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए । स्थानीय स्तरमा दुग्ध उद्योग विस्तार हुने, कृषकको आय वृद्धिमा टेवा पुग्ने र गाउँपालिकाको आर्थिक विकासमा योगदान पुग्ने उनको भनाइ छ ।
