तिलोत्तमा — दलित समुदायको न्याय, समानता र अधिकार सुनिश्चितताका लागि आयोजना गरिएको ‘तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ सम्पन्न भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको दुईदिने उत्सव शनिबार सकिएको हो ।
ज्ञान उत्सवको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाले एक समारोहबीच समापन गरेका हुन् । ज्ञान उत्सव समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सेनाले पछाडि पारिएको दलित समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका हुनुपर्ने बताए । उनले लुम्बिनी प्रदेश सरकारले दलित अधिकार ऐन ल्याउने तयारीमा जुटेको समेत बताए । तिलोत्तमा नगरपालिकाले दलित ज्ञान उत्सव गरेर नमुना काम गरेको पनि मन्त्री तिमिल्सेनाको भनाइ छ ।
समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगरलाई मानवताको सहर बनाउने अभियान अन्तर्गत दोस्रो वर्षको दलित ज्ञान उत्सव सफलतापूर्वक सम्पन्न गरिएको बताए ।
यसअघि ज्ञान उत्सव कार्यक्रममा शनिबार विभिन्न सत्रमा बहस तथा छलफल गरिएको थियो । शनिबारको छलफलमा पूर्वमन्त्री मीन विश्वकर्मा, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार सहभागी 'संघीयतामा दलित सवाल र प्रतिनिधित्व' विषयमा छलफल गरिएको थियो । उक्त छलफलमा सहभागीहरूले दलित समुदायका लागि संघीयता हर्ष न विस्मात्को अवस्थामा रहेको भन्दै प्रतिनिधित्वको सवालमा केही सुधार भए पनि त्यो पर्याप्त नभएको बताए । सो कार्यक्रमको सहजीकरण पत्रकार विनोद परियारले गरेका थिए ।
यसैगरी ‘प्रशासनिक संयन्त्रमा समावेशिता’ विषयक सत्रमा तिलोत्तमाका पूर्वसचिव डा. मानबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, इलाका प्रशासन कार्यालय बुटवलका कार्यालय प्रमुख रामचन्द्र अर्यालले आफ्नो धारणा राखेका थिए । यो सत्रको सञ्चालन पत्रकार सञ्जु पौडेलले गरेकी थिइन् । यसैगरी दोस्रो दिन नै बुटवल उपमहानगरका नगर उप–प्रमुख सावित्रादेवी अर्याल र अध्येता सुशील विके वक्ता रहेको सत्रमा स्थानीय सरकारमा दलितमैत्री बजेटबारे छलफल गरिएको थियो । यो सत्रको सञ्चालन पत्रकार टंक सुनारले गरेका थिए । यसैगरी ‘सामाजिक रूपान्तरणमा युवा’ सत्रमा अध्येता गणेश श्रीपाली, अधिकारकर्मी संजय निगम, अधिकारकर्मी सुभाष नेपालीले छलफल गरे ।
पहिलो दिन शुक्रबार ‘लुम्बिनी प्रदेशमा दलित समुदायको सशक्तिकरण, दलित अधिकार ऐन र राजनैतिक दलको भूमिका’ विषयमा नेपाली कांग्रेस लुम्बिनीका सचेतक जमुना ढकाल, एमालेका सचेतक तुलसी चौधरी र सामाजिक विकास समितिका संयोजक यमबहादुर गैरे नेपालीबीच छलफल गरिएको थियो । यो सत्रको सञ्चालन पत्रकार अमृता अनमोलले गरेकी थिइन् ।
त्यस्तै, राजनीतिक दल र दलित समावेशीकरणको सवाल विषयमा नेपाली कांग्रेसका रूपन्देहीका सभापति रामकृष्ण खाँण, नेकपा एमाले रूपन्देहीका अध्यक्ष यज्ञ गैरे र नेकपा माओवादी केन्द्रका अध्यक्ष निर्मल जीसीबीच छलफल गरिएको थियो । यो सत्रको सञ्चालन पत्रकार दिनेश पाण्डेयले गरे । दलित र उद्यमशीलताका विषयमा उद्यमी जितु बौडेल, तारा सुनार, फणिन्द्र घेलेबीच छलफल गरियो भने यो सत्रको सहजीकरण जीवन परियारले गरे ।
बहससँगै विभेदविरुद्ध चित्रकला प्रदर्शन, गीत संगीत प्रस्तुति, संघीय, प्रदेश तथा स्थानीयस्तरका सरोकारवालाको अनुभव र सामाजिक जागरणको विषयमा चर्चा गर्दै उत्सव उत्साहका साथ सम्पन्न भएको वन तथा वातावरण समितिका संयोजक एवं कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए । उत्सवले दलित समुदायको अधिकार र सवाललाई पुनः बहसमा ल्याएको र स्थानीय सरकारले दलितको आत्मसम्मान बढाउन यो कार्यक्रम आयोजना गरेको कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए । न्याय, समानता र अधिकार भन्ने नाराका साथ आयोजित दुई दिने ज्ञान उत्सवको पूर्वमन्त्री एवं संघीय सांसद छविलाल विश्वकर्माले उद्घाटन गरेका थिए ।
