दसगजामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त गस्ती
बर्दिया — बर्दियासँग जोडिएको नेपाल-भारत सिमानामा दुवै देशका सुरक्षाकर्मीले २० वटा नाकामा थप कडाइ गरेका छन् । ८३ किलोमिटर लामो खुला सिमानामा ८० प्रतिशत भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष र घना जंगल पर्छ ।
सुरक्षाका हिसाबले सबैभन्दा बढी जोखिम मानिएको बर्दियाको गणेशपुर र भारतको लौकाही नाकाको विशेष निगरानी राख्दै दसगजामा सशस्त्र प्रहरी बल,नेपाल प्रहरी र भारतीय एसएसबीले संयुक्त गस्ती गरेका छन् । यसबाहेक आउजाउ गर्नेमाथि नाकामै अभिलेख लिने गरिएको छ । कहाँ जाने, कहिले फर्किने, केका लागि जाने र कसलाई भेट्नेजस्ता प्रश्न सोधिन थालिएको छ ।
सीमाबाट अवाञ्छित गतिविधि नहोस् भनेर दुवै देशका सुरक्षाकर्मीले नाकामा कडाइ गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । पहिचान खुल्ने परिचयपत्र अनिवार्य गरिएको उनको भनाइ छ ।
कश्मीरको पहलगाममा भएको आतंकवादी हमालासँगै भारत-पाकिस्तान द्वन्द्व चर्किएपछि नेपालको दक्षिणी सीमामा पनि सुरक्षा सतर्कता बढाइएको हो । सशस्त्र प्रहरीको पनि २० वटा बोर्डर आउटपोस्ट (बीओपी) ले जाँच र गस्ती बढाएका छन् ।
यसैबीच, विगतमा भारतीय सीमावर्ती बजार लौकाही र बलैगाउँ जाने नेपालीको संख्या निकै कम भएको स्थानीयले बताएका छन् ।
