पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८, नयाँपाटी नजिकै गुडिरहेको ट्र्याक्टरमा ढुंगा खस्दा चालक घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ४ त ९०४ नम्बरको ट्र्याक्टरमा अचानक ढुंगा खस्दा रैनादेवी छहरा गाउँपालिका–२, सोमादी बस्ने २२ वर्षीय दानबहादुर कुमाल घाइते भएको प्रहरीले जनाएको छ ।
सिमेन्ट र छड लोड गरी आएको ट्र्याक्टरमा सडकमाथिबाट ठुल्ठूला ढुंगा खसेपछि ट्र्याक्टरसमेत पल्टिन पुगेको प्रत्यक्षदर्शी विनोदकुमार शर्माले जानकारी दिए । घाइते कुमाललाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएको छ ।
स्थानीयका अनुसार माथिल्लो भेगमा डोजरले सडक खन्ने काम गरेको थियो । प्रहरी चौकी प्रभासले थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
