पाल्पा — पाल्पाको सिद्धबाबा क्षेत्रमा बिहीबार बेलुकी भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा ड्यामसाईड नजिकै भएको दुर्घटनामा चालक रुपन्देहीको सियारी गाउँपालिका–२ का २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बुटवलबाट पाल्पातर्फ आउँदै गर्दा लु १ क २५१७ नम्बरको रित्तो टिपर दुर्घटना भएको हो । टिपरको टायर पञ्चर भई अनियन्त्रित हुँदा सडकबाट झण्डै ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन् । दुर्घटना हुँदा चालक यादव गम्भीर घाइते भएको र प्रहरी टोलीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको हो । प्रादेशिक अस्पताल पुर्याइएका घाइते यादवलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।
