बर्दिया — नदी कटान र बाढी न्यूनीकरणका लागि २०७४ सालमा स्थापना गरिएको बबई, भादा, औराही नदी व्यवस्थापन आयोजनाको काम पूरा नहुँदै डडेल्धुरा स्थानान्तरण गरिने भएको छ ।
आयोजनाको सम्पर्क कार्यालय भने कर्णाली नदी व्यवस्थान आयोजना, राजापुरमा रहने भएको छ । आउँदो साउन महिनाबाट आयोजना डडेल्धुरा जाने भएको छ । बबई, भादा, औराही नदी व्यवस्थापन आयोजना ०७४ साल असोज ९ गते गुलरियामा स्थापना भएको थियो ।
पाँच वर्षभित्र बबईको २८ किमी, भादाको २२ किमी र औराही नदीको २६ किमी तटबन्ध निर्माण गर्ने लक्ष्य थियो । आयोजना स्थापना भएको ५ वर्षभित्र तटबन्धको काम सम्पन्न गर्ने लक्ष्य भए पनि बजेटको अभावमा यसको लक्ष्य बढाएर आव ०८४/०८५ अवधि सम्म थियो ।
करिब ४ अर्बको लागतमा तटबन्धको काम सम्पन्न गर्ने लक्ष्य थियो । काम सम्पन्न नभएपछि ०७९ साल साउन १५ गतेको संशोधित गुरु योजना अनुसार ८ अर्ब ४८ करोड ४८ लाख लागत बजेट स्वीकृत गरिएको थियो, आयोजनाले जनाएको छ ।
बजेट स्वीकृत भए पनि माग अनुसार निकासा नहुँदा कामले गति नलिएको आयोजनाका प्राविधिक बताउँछन् । हालसम्म बबईमा ७७ दशमलव ८५ प्रतिशत भएको आयोजनाले जनाएको छ । यसै गरी भादामा ४ दशमलव ४३ प्रतिशत र औराहीमा २ दशमल २२ प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजना प्रमुख शिव साहले बताए ।
‘बजेट सुनिश्चिता अनुसार निकासा नहुँदा कामले गति नलिएको हो । यस आयोजनाको कार्यालय आउँदा साउनमा डडेल्धुरा जाने भएको छ,’ उनले भने, ‘सम्पर्क कार्यालय कर्णाली नदी व्यवस्थापन आयोजना, राजापुरमा रहने छ ।’
आयोजना अन्तर्गत बबई,भादा,ओराही व्यवस्थापन कार्यालय, गुलरियाले पण्डीतपुरदेखि नेपाल भारतको सीमाना लटकनियासम्म तटबन्धको काम भइरहेको छ । आयोजनाका अनुसार हालसम्म २ अर्ब ४० करोड ९५ लाख खर्च भइसकेको छ । आयोजना स्थानान्तरण हुनासाथ जोखिम क्षेत्रको काम अधुरो भई वर्षायाममा ठूलो क्षति हुने गुलरिया–१० रत्नापुरका किसान दीपक चौधरी गुनासो पोख्छन् ।
०७१ र ०७४ सालमा आएको भिषण बढीले बबई तटीय क्षेत्रका करिब ९० प्रतिशत भू–भाग डुवानमा परेका थिए । बाढीले ४० जनाको ज्यान जानुका साथै ५ सय बढी घर क्षति पुर्याएको थियो । गुलरिया–४ रामपुर टप्पु र बारबर्दिया–१ को डुग्रही बस्ती नै बगायो ।
त्यसैबेला बबई नदी नियन्त्रणका लागि गुरुयोजना निर्माण भएको थियो । सिँचाइ मन्त्रीसमेत रहेका समय सांसद सञ्जयकुमार गौतम र जलस्रोत विज्ञ डाक्टर नारायण सुवेदीको पहलमा बबई, भादा, ओराही नदी व्यवस्थापन कार्यालय स्थापना भएको थियो ।
