कपिलवस्तु — सशस्त्र प्रहरीले सीमावर्ती गाउँका दुई बालविकास केन्द्रमा बालबालिकाको सिकाइ अभिवृद्धि गर्न बालमैत्री भित्ते लेखन र चित्रकला कार्यशाला सम्पन्न गरेको छ ।
विद्यालय भवनअघि राष्ट्रिय चिह्नका चित्र, राष्ट्रिय गान, अंग्रेजी र नेपालीमा महिना र बारका नाम लेखिएको छ । त्यस्तै ‘क’देखि ‘ज्ञ’सम्म र ‘ए’ देखि ‘जेड’सम्मका अक्षर, शून्यदेखि ९ सम्म अंक, अक्षर नेपाली र अंग्रेजीमा र ‘अ’देखि ‘अः’सम्मका अक्षर लेखिएको छ । भित्ते चित्रमार्फत प्रारम्भिक अक्षर चिनाउने र पढाइप्रति लगाव बढाउने उद्देश्यले बालमैत्री भित्ते लेखन कार्य सम्पन्न गरिएको सशस्त्र प्रहरी २८ नम्बर गणका गणपति उपरिक्षक नरेन्द्र केसीले बताए । 
सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत जिल्लाको सुदूरपश्चिम विजयनगर गाउँपालिका–५ मा रहेको डालपुर बालविकास केन्द्र र उक्त गाउँपालिकाको ६ नम्बर वडामा रहेको उज्जवलपुरको समयमाई बालविकास केन्द्रमा भित्ते लेखन गरिएको हो । सशस्त्र प्रहरीले रंग र जनशक्ति सहयोग गरेर भित्तेलेखन गरेको हो ।
त्यस्तै महाराजगन्ज नगरपालिका–८ कजरहवा र वडा नं. १० हर्दौनामा दुईदिने निःशुल्क आँखा शिविर संचालन गरिएको छ । सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सशस्त्रको २८ नबर गणद्वारा कजरहवामा १ सय २५ जना र हर्दौनामा १ सय ६० जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो ।
दुईदिने शिविरमा मोतियाबिन्दु भएका ९५ जनाको शल्यक्रिया गर्ने बिरामी पहिचान गरिएको थियो । यीमध्ये अहिले ३२ जनाले मात्र आँखाको शल्यक्रिया गर्ने बताएपछि तयारी थालिएको उपरिक्षक केसीले बताए । ३२ जनाको एक–दुई दिनमै सदरमुकाम तौलिहवा स्थित सिद्धार्थ नेत्रालयमा निःशुल्क शल्यक्रिया गरिने उनले बताए ।
