कपिलवस्तुमा 'प्रसूति उत्सव' गरेर बुद्ध जयन्ती मनाइँदै 

वैशाख २५, २०८२

मनोज पौडेल

Buddha Jayanti is being celebrated by 'Maternity Festival' in Kapilvastu

कपिलवस्तु — शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) मा ४ दिनसम्म २५६९ औं बुद्ध जयन्ती मनाइने भएको छ ।

बुद्ध जयन्ती मूल समारोह समितिद्वारा तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार वैशाख ३० गते 'बेबी बुद्ध'को प्रतिमालाई शोभायात्रासहित नगर परिक्रमा गराउँदै तिलौराकोट लगेर 'प्रसूति उत्सव' गरिनेछ । त्यसअघि 'बेबी बुद्ध'को प्रतिमा लिन एक टोली बुद्ध जन्मस्थल लुम्बिनी पुगेर बाजागाजासहित नगर भित्र्याउने कार्यक्रम रहेको बुद्ध जयन्ती मूल समारोह समिति संयोजक गोपीकृष्ण शर्माले बताए ।

नगरको प्रवेशद्वार जमुवार पुलबाट पञ्चेबाजा र स्थानीय बाजासहित पुष्प वर्ष गर्दै बेबी बुद्धको प्रतिमा प्राचीन राजप्रासाद तिलौराकोट लगिनेछ । त्यस्तै, वैशाख २७ गते रक्तदान गरिनेछ भने २८ गते साँझ भगवान् बुद्ध पहिलोपटक राजप्रसासाद तिलौराकोट आउने क्रममा निग्रोधाराममा बसेको स्मरण गर्दै गरिने लघुनाटक देखाइनेछ । त्यस्तै वैशाख २९ गते साँझ तिलौराकोटमा 'पिस मेडिटेसन वाक' गरिनेछ । बजार क्षेत्रका मुख्य सडकभरि नेपाली र बौद्ध झन्डा राखेर बुद्धमय वातावरण बनाइने उनले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully