लुम्बिनी प्रदेशसभाको अधिवेशन वैशाख ३१ गतेका लागि आह्वान गर्न सिफारिस

जेठ ४ गते आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय

वैशाख २४, २०८२

घनश्याम गौतम

Recommendation to call the session of Lumbini State Assembly for Baisakh 31st

बुटवल — लुम्बिनी प्रदेशसभाको छैंटौँ अधिवेशन वैशाख ३१ गतेका लागि आह्वान गर्न प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । सरकारले जेठ ४ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पनि निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमीश्वर ढकालले बताए ।

त्यस्तै सरकारले आगामी वर्षका लागि जेठ ४ गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । प्रदेश सरकारले पाँचौँ अधिवेशन गत फागुन ७ गतेदेखि अन्त्य गरेको थियो । गत पुस १६ गतेदेखि सुरु भएको बैठकमा ११ वटा बैठक बसेका थिए । ११ बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित गरेको थियो ।

त्यस्तै प्रदेश सभाको चौथो अधिवेशनबाट पारित भएर प्रदेश प्रमुखबाट फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक पनि पाँचौँ अधिवेशनले पारित गरेको थियो । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully