दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास मोडेलमा परिवर्तन ल्याउने गरी प्रदेश सरकारले नव प्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन् ।
नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहबाट प्रस्तावित परियोजना कार्यक्रमसम्बन्धी संक्षिप्त प्रस्तुतीकरण एवं पूर्ण प्रस्ताव लेखनसम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई बुधबार लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विकास मोडेललाई नव प्रवर्तनको क्षेत्रमा अनिवार्य रुपमा जोड्न जरुरी रहेको बताए ।
'विकास भनेको भौतिक पूर्वाधार मात्रै हो, बाटो, पुल मात्रै हुन भन्ने बुझाइ नै गलत भयो । अब मानवीय विकास र स्थानीय उत्पादन बढाउने गरी लगानी केन्द्रित गरौं,' उनले भने,'विकास मोडेललाई परिवर्तन नगरेसम्म आधारभूत तहका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकिँदैन ।'
उत्पादनको काममा आधारभूत वर्गका नागरिकलाई जोडेर आर्थिक विकास गर्न सकिने धारणा व्यक्त गर्दै उनले यसलाई अभियानका रुपमा अघि बढाउन आवश्यक रहेको बताए । संघीयतालाई बलियो बनाउन तीन तहका सरकारले नै नवप्रवर्तनको क्षेत्रमा प्राथमिकताका साथ काम अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
प्रदेश सरकारले कृषि र उत्पादन क्षेत्रलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम र बजेट बनाउन थालेको उनले बताए । 'सस्तो लोकप्रियताका लागि सधैँ घाटाको बजेट बनाउने काम भयो तर, अब हामीले आशा जगाउने गरी यथार्थ धरातलमा रहेर बजेट ल्याउँछौं,' उनले भने, 'योजना छनोट, बजेट निर्माण र कार्यान्वयनमा समेत विधि बसाउन चाहेका छौं ।'
लुम्बिनी प्रदेश सरकारले शैक्षिक प्रणाली, आर्थिक विकास, शासकीय शैली, पूर्वाधार निर्माण, सेवा प्रवाह, नीति निर्माण र गुनासो व्यवस्थापनलगायतका क्षेत्रलाई आधार मानेर नवप्रवर्तन कार्यक्रम अघि बढाएको हो ।
प्रदेश र स्थानीय तहलाई आर्थिक विकाससाग जोड्नेगरी नवप्रवर्तनको योजनालाई अघि बढाइएको मुख्यमन्त्री कार्यालयका सचिव कवीन्द्र नेपालले बताए । अहिले अघि बढाउन खोजिएका योजना गौरव गर्ने खालका रहेको र यसको कार्यान्वयनमा विशेष ध्यान दिइने उनले बताए ।
