तिलोत्तमामा २६ र २७ गते दलित ज्ञान उत्सव

वैशाख २४, २०८२

सन्जु पौडेल

Dalit Knowledge Festival on 26th and 27th at Tilottama

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २ दिने दलित ज्ञान उत्सव गर्ने भएको छ । पालिकाले यही वैशाख २६ र २७ गते विभिन्न कार्यक्रमसहित उत्सव गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

पालिकाभित्रको जनसंख्यामध्ये ११ प्रतिशत रहेका दलित समुदायलाई मूलधारमा ल्याउनका निम्ति 'विभेदमुक्त नगर : समानतायुक्त नगर' भन्ने मूल नारासहित, आफ्नो नीति तथा कार्यक्रममै तिलोत्तमा दलित ज्ञान उत्सव–२०८२ समावेश गरी कार्यक्रम गर्न थालिएको नगर प्रमुख रामकृष्ण खाँणले बताए । 

उनले दलित समुदायले उपेक्षित भइयो, आत्मसम्मान भएन भनिरहँदा समतामूलक मानवीयताको सहर बनाउन यस उत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । खाँणले तिलोत्तमाभित्र रहेका दलित समुदायको हकहित र उनीहरुलाई उद्यमशिल बनाउँदै पदीय जिम्मेवारीमा, सीपमूलक र आयमूलक कार्यक्रममा अघि सार्न नगरपालिकाले कार्यक्रम गरिरहेको जनाए ।

उपप्रमुख जगेश्वरदेवी चौधरीले गत वर्षको उत्सवभन्दा केही परिस्कृत गरी यस उत्सव गर्न लागिएकाले यसले नयाँ आयाम थप्ने बताइन् । 

उनले आगामी नीति निर्माणका लागि कार्यक्रमले राम्रो सन्देश प्रवाह गर्ने र सुझाव संकलनसमेत हुने भएकाले आफूहरुले कार्यक्रमलाई सोहीअनुसार संचालन गर्ने बताइन् । उत्सवले सामाजिक अन्तरघुलनलाई प्राथमिकतामा राखी जातीय विभेद अन्त्यका लागि चेतनामूलक नतिजा दिनेमा विश्वस्त रहेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । उनले ३ वटा विषयलाई प्राथमिकतामा राखी उत्सवको आयोजना गरिएको बताए । पहिचान, पहुँच र प्रतिनिधित्वलाई ख्याल गर्दै यी विषयमा भइरहेका अवरोध हटाउने वातावरण सिर्जना गर्न कार्यक्रम प्रभावकारी हुने उनले जनाए ।

विभिन्न ११ वटा शीर्षकमा दलित समुदायकेन्द्रित विभिन्न बहस संचालन, विभेदविरुद्ध चित्रकला प्रदर्शन, गीत/संगीत प्रस्तुति, संघीय, प्रदेश तथा स्थानीयस्तरका सरोकारवालाको अनुभव र सामाजिक जागरणको विषयमा चर्चा गर्दै उत्सव संचालन गरिने कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए ।

यो उत्सवले दलित समुदायलाई सशक्त बनाउन र आगामी पुस्तालाई प्रेरित गर्न ठूलो योगदान पुर्‍याउने सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीको भनाइ छ । आइएसओ सर्टिफाइड नगरपालिकाका रूपमा चिनिएको तिलोत्तमाले यस्तो ज्ञान–केन्द्रित सामाजिक कार्यक्रम गरी समावेशी र सशक्त समाज निर्माणतर्फ नयाँ दृष्टान्त राखेको उनले जनाए । 

दुई दिनसम्म चल्ने कार्यक्रमका लागि पालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको भन्दै उनले कार्यक्रममा हरेक समुदायबाट प्रतिनिधित्व हुने, हरेकका धारणा प्रस्तुत हुने र गहन विषयमा छलफल गरी समतामूलक नगरपालिका निर्माणको गति अघि बढाउने बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully