दाङ — दाङमा ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । राप्ती गाउँपालिका-१, पुल्चोकस्थित प्युठान भालुबाङ सडक खण्डमा प्रहरीले मंगलबार बेलुका घोराहीबाट प्युठानतर्फ जाँदै गरेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा खानतलासी गर्दा उक्त गाडीमा सवार राप्ती-२, बराहखुटीकी २० वर्षीया सरिता सार्कीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
उक्त गाडीमा लागूऔषध ओसारपसार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा सार्कीले भित्री कपडामा लुकाइछिपाई राखेको २ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
सार्कीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
