तिलोत्तमा सडकआश्रित मानवमुक्त पालिका घोषणा

वैशाख २३, २०८२

सन्जु पौडेल

Tilotta declared a road-dependent human-free municipality

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिका सहयोगापेक्षी सडक आश्रित  मानवमुक्त पालिका घोषणा भएको छ । मंगलबार एक कार्यक्रमका बीच नगरप्रमुख रामकृष्ण खाँणले पालिका सडकआश्रित मानवमुक्त भएको घोषणा गरेका हुन् ।

उनले अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र अनाथ भई बस्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । पालिकाले वडा नम्बर-६ मा रहेको मानव सेवा आश्रमसँग सहकार्य गरी मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई घोषणापत्र हस्तान्तरण गरेको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी  प्रदेशलाई नै सडक आश्रित मानवमुक्त प्रदेश बनाउने तयारी समेत गरिरहेको जनाए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार मानव सेवा आश्रमका लागि गत वर्ष नै नगरपालिकाले पूर्वाधार निर्माणका निम्ति ५० लाख सहयोग गरेको थियो । 

अर्यालले पालिकालाई सडक आश्रित मानवमुक्त घोषणा गर्नका लागि मानव सेवा आश्रममा रहेको २ सय जना अटाउने स्थलमा संख्या पूरा नरहेकाले नै पालीकाका कुनै पनि स्थानमा बेसहारा, सहयोगको अपेक्षा गरेका मानिस नरहेको जनाउने बताए । उनले कहीँ कसैबाट गुनासो नआएको, कतै मानिस सडक वरपर फेला नपरेकाले नै पालिका सडक आश्रित मानवमुक्त बन्न सकेको जनाए ।

आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत मानव सेवा आश्रमसँगको सहकार्यमा कार्ययोजना नै निर्माण गरी घोषणा गरिएको कार्यक्रमलाई दीगो बनाउने उनले बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully