कपिलवस्तु — कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका शिवराज नगरपालिका-६ बस्ने ६१ वर्षका सुकई पासी २३ वर्षपछि पक्राउ परेका छन् ।
अदालतबाट दोषी ठहर भई फरार रहेका पासीलाई घरबाटै पक्राउ गरी अदालतमा पेस गरेर कारागार पठाइएको जिल्ला प्रहरी प्रवक्ता निरीक्षक माधव विश्वकर्माले बताए । उनलाई २०५४ भदौ २ गते उक्त ठाउँ बस्ने ३९ वर्षे आईतबारी कोरीलाई कर्तव्य गरी मारेको अभियोगमा ०५९ असार १७ गते जिल्ला अदालतले जन्मकैद (२० वर्ष) को फैसला गरेको थियो ।
आईतबारी कोरीको शव ०५४ भदौ ४ गते सुरही नदीको किनारमा फलामे सिक्रीले बाँधेको अवस्थामा फेला परेको थियो । सुकई र आईतबारीबीच हत्या हुनु २ वर्षअघि गाजाको विषयमा वादविवाद भई कुटपिट भएको थियो ।
घटनामा संलग्न भएका आरोप लागेका उक्त ठाउँ बस्ने चन्द्रराम कुर्मी र प्रभुनाथ पासीलाई भने ०६३ माघ २१ गते सर्वोच्च अदालतले सफाई दिएको थियो । सुकई पासीका हकमा भने जिल्लाकै फैसला सदर गरेको थियो ।
