रुपन्देहीमा तीन दिनदेखि हराइरहेका पुरुषको शव फेला

वैशाख २२, २०८२

सन्जु पौडेल

The body of a man who had been missing for three days was found in Rupandehi

तिलोत्तमा — रुपन्देहीमा तीन दिनदेखि हराइरहेका एक पुरुषको शव फेला परेको छ । जिल्लाको तिलोत्तमा–२ शंकरनगरका गोपाल टण्डनको सोमबार शव भेटिएको हो ।

२० वर्षका टण्डन बुटवल उपमहानगरपालिका वडा नम्बर–११ स्थित हाइटेन्सन लाइनलाई हटाएर मोनोपोल जडान गर्न बनाइएको खडलमा मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका थिए । रातिको समयमा अनियन्त्रित रूपमा मोटरसाइकल कुदाउँदा टण्डनको खाडलमा परेर ज्यान गएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी इन्द्रबहादुर रानाले टण्डनले चलाएको लु ४८ प ३११७ नम्बरको मोटरसाइकल फेला परेको बताए । ‘परिवारले आइतबार युवक हराएको भनेर निवेदन दिनुभएको रहेछ,’  उनले भने, ‘राति दुई बजेटेको समयमा तीव्र गतिमा चलाएको मोटरसाइकल माटोको ढिस्को नाघेर खाडलमा परेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । घटनाको अन्य अनुसन्धान भइरहेको छ ।’

टण्डनको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully