रुपन्देहीको तिलोत्तमा–४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रले घरघरमै पुगेर वृद्ध बुवा आमालाई ल्याएर उनीहरूको मन भुलाउनुकासाथै रचनात्मक क्रियाकलापमा सहभागी गराइरहेको छ
लुम्बिनी — रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ९२ वर्षीय तुलसीराम पौडेल हरेक दिन बिहान १० बजेपछि सडकमा पुग्छन्। केहीबेर सडकमा उभिएपछि उनलाई लैजान एउटा भ्यान आइपुग्छ । केही बेरमै ज्येष्ठ नागरिक मिलन केन्द्र पुग्दा त्यतिन्जेल भारी उनको मन चङ्गा बन्छ ।
दिनभरि थुप्रै क्रियाकलापमा सहभागी भएर अपराह्न तीन बजे उनी पुनः केन्द्रकै गाडीमा घर फर्किन्छन् । अर्घाखाँचीका उनी तिलोत्तमा आएको २२ महिना भयो । छोराबुहारी, नातिनातिना यहीँ भएकाले आएका हुन् । १० वर्षअघि श्रीमतीको निधन भएपछि गाउँमा एक्लै बस्थे । एक्ले बसे पनि पकाउने–खाने, कुटो–कोदालो गर्थे । भइपरीका काम आफ्नै गर्थे ।
शरीरले साथ नदिएपछि कडा परिश्रम लाग्ने काम गर्न सक्दैनन् । ‘आराम गर्ने बेला भएछ भन्ठानेर छोरा–बुहारी भएको ठाउँमा आएँ,’ उनले भने, ‘शरीरले धानेको भए त अझै गाउँमै बस्ने रहर थियो नि ।’ यहाँ आएपछि यहीँ मिलन केन्द्र गाउँको तिर्सना मेटाउने थलो बनेको छ ।
उनी गीत र भजनका टुक्का भर्न सिपालु छन् । ज्येष्ठमध्येका पनि ज्येष्ठ भए पनि केन्द्रको कक्षामा सञ्चालन हुने गतिविधिमा तदारुकताका साथ भाग लिन्छन् । मादल बजाउँदै टुक्का गाउँछन्–
त्यसै त उडेको मन
झन् उड्यो मण्डलै मारेर,
श्रृंगेश्वरधाममा १ सय ८ पिपलु
मिलन केन्द्र आएपछि मन हुन्छ शितलु ।
यस्ता टुक्का गाउँदै रमाउने बेलामा पनि श्रीमतीको यादले सताउने गरेको उनले बताए । छोराछोरीबाट प्रशस्त माया पाइरहे पनि मिलन केन्द्रका साथीसँग आफ्नै पाराको गफ मिल्ने र गन्थन हुने भएकाले दैनिकी सरल बनेको उनले सुनाए ।
‘आत्माले राति पनि मिलन केन्द्रमै बस्न पाए हुन्थ्यो भन्ने सोच्छ,’ उनले भने, ‘तर दिवा सेवा मात्र रहेकाले यसैमा सन्तुष्ट भइएको छ ।’ यहाँ मिलन केन्द्र स्थापना नभएको भए रिडी धाममा गएर बस्ने योजना बनाएको उनले बताए । आफ्ना अनुभव, ज्ञान, विचार साट्न मन लाग्ने भएकाले केन्द्रमा रमाइलो भइरहेको छ ।
तिलोत्तमा २ जानकी नगरकी ८० वर्षीया नर्मदा अर्याल पनि दिन नबिराएर मिलन केन्द्र आइपुग्छिन् । पुर्ख्यौली गुल्मी भएकी उनी छोराले तिलोत्तमामा घर बनाएपछि श्रीमानसँगै साना नाति–नातिना रेखदेख गर्न भनेर यहाँ आएकी थिइन् । प्यारालाइसिसले थलिएर श्रीमान् गुमेपछि घरमा नातिनातिना खेलाएर बसिन् ।
अहिले नातिनातिना हुर्केर क्याम्पस जान्छन् । दिनभर घरमा एक्लै बस्न धौं भइरहेको थियो । १२ वर्षमा विवाह भएकी उनको उमेर मेलापात, घाँस दाउरामै बित्यो । उनले भनिन्, ‘श्रीमान्ले भारतमा जागिर गर्नुभएको थियो, त्यसैको पैसा आउँछ र अहिले सजिलो छ ।’
नर्मदाले मिलन केन्द्रलाई १ लाख रुपैयाँ सहयोग दिएकाले आजीवन सदस्य हुन् । उनले भनिन्, ‘म स्थापनादेखि आएकी हुँ, बिरामी परेको दिनबाहेक सबैभन्दा बढी हाजिर मेरै छ ।’ सुरुमा छोराले दिनभरि भुल्न हुन्छ आमा जानुस् भन्दा उनलाई आउनै मन थिएन । यसो विचार गर्न जान्छु भनेर आएकी उनी त्यस दिनयता निरन्तर आउने सदस्यमा पर्छिन् ।
शनिवारको बिदा पनि उनलाई नभइदिए हुन्थ्यो जस्तो लागेको छ । उनी माइक समातेर घण्टौँ बोल्न सक्ने भएकी छन् । सुरुमा माइक लिँदा मैले हँसिया, कोदालो समात्ने हातलाई ढुङ्ग्रो दियौँ भनेर खिज्याउँथे,’ उनले भनिन्, ‘अहिले माइक पाइरहे हुन्थ्यो, बोलिरहन पाए हुन्थ्यो जस्तो लाग्छ ।’
तिलोत्तमा–४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रले घरघरमै पुगेर बुवा आमालाई दिनभरि विश्राम गर्ने स्थल भएको सूचना दिएपछि बुवा आमा यस केन्द्रमा आउन थालेका हुन् । उनीहरूका जागिरे हुन् वा घरमै बस्ने सन्तान, उनीहरूले सहजै दिनभरि भुल्ने बाटो हुन्छ भनेर केन्द्रमा पठाइदिने गरेका छन् ।
डेढ वर्षको अवधिमा केन्द्रमा आएका बुवा आमाले स्वस्थ जीवनशैली अपनाउने तरिका, मनका कुण्ठा पोख्ने थलो बनाउँदै, ध्यान, योग र मनोरञ्जनको स्रोत समेत सिकेका छन् । उनीहरू केन्द्रमा आएर रमाइलो गरी दिन बिताउन पाउँदा औधी खुसी देखिन्छन् । उनीहरूलाई हरेक दिन केही न केही नयाँ कुरा सिकाउन, जानकारी दिएर दैनिकीमा उत्साह जगाउन मिलन केन्द्रकै समितिका पदाधिकारी र बाहिरबाट समेत बोलाउने गरिएको छ ।
केन्द्रमा तिलोत्तमा ६ का ७९ वर्षीय रोमनाथ कँडेल पनि जान्छन् । उनलाई भजन गाउन र हार्मोनियम बजाउन औधी मन पर्छ । उनका छोराले यस्तो संस्था स्थापना गर्दैछौं, हजुर पनि दिउँसोमा गए हुन्छ भनेर सुनाएका थिए । कँडेल भने आउनै चाहन्थेनन् । छोराले बुहारीसँग बुवा गएर देखे हुन्थ्यो भनेपछि बुहारीको आग्रहमा उनी केन्द्रसम्म पुगे । त्यसपछि उनको दिनचर्या बद्लियो ।
‘पूजाआजामा बोलाउँदा नगई नहुने आफन्त कहाँ जान्छु, होइन भने, यहीँ आउने हो,’ उनले भने, ‘म मानसिक रूपमा एक्लो महसुस गर्ने, दुःख मान्ने गर्थेँ, यो ठाउँ मेरो ओखती बनेको छ, आनन्दमा छु ।’ ७४ वर्षीया रुमा गिरी भने घरघरमा केन्द्रका पदाधिकारी गएर बोलाएपछि आफ्नै मनले आएकी हुन् । उनले समय बिताउन साह्रै सहज भएको महसुस गरेको बताइन् ।
उनले आफूजस्तै श्रीमान्को निधन भएका दिदीबहिनीलाई भेट्दा मेरा पनि मान्छे रहेछन् भन्ने लागेको बताइन् । उनले केन्द्रमा प्रायः एकल भएपछि घरमा बस्न भन्दा आउन ठिक भनेर आएका मानिस भेटेको बताइन् । पाल्पा घर भएका ज्योतिष हुमनाथ न्यौपाने पनि मिलन केन्द्रमा आएर खुसी छन् । श्रीमतीको निधनपछि त्यहाँ बस्न नसकेर यता आएको उनले बताए ।
‘पहिले जिल्ला प्रशासनमा काम गर्थेँ, पछि ज्योतिष विद्याको धेरै वर्ष काम गरेँ,’ उनले भने, घरमा एक्लै विरक्त लाग्यो, छोरासित यहाँ आएपछि ठिक भएको छ ।’ उनलाई यहाँ आउन आफ्ना भान्जाले सुझाएका थिए ।
यी उदाहरण पात्र हुन् । केन्द्रमा आउने ८५ जना आमाबुवा नै आफ्नो खुसी त्यहाँ जानेजतिलाई साट्छन् । उनीहरूलाई बुढेसकालको एक्लोपन मेटाउने उचित आश्रय स्थल बनेको छ ज्येष्ठ नागरिक मिलन केन्द्र । केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले एउटा मात्र गाडी रहेकाले नजिकबाट मात्र ल्याउने गरे पनि बिस्तारै अन्य पालिकामा पनि सेवा बिस्तार गर्ने योजना गरेको बताए ।
‘भर्खरै सुरुवाती चरणमा छौँ, भविष्यमा हामी ५ सय बुवा आमालाई केन्द्रमा जोड्न चाहन्छौँ,’ उनले भने । उनका अनुसार केन्द्रमा बिहान ११ बजे बुवा आमा आइपुगेपछि अतिथि आएको बेला औपचारिक रूपमा सुरुवात गर्ने गरिन्छ । कसैको जन्मदिन भए शुभकामना आदानप्रदान र रमाइलो गरिन्छ । अन्य समयमा भने ओंमकार ध्यानबाट दैनिकी सुरु गरिन्छ ।
त्यस लगत्तै योगा गराएर कथा सुनाइन्छ । ‘कथा श्रवणपछि बुवा आमा आफैले बाजा बजाउँदै भजन कीर्तन गर्ने गर्नुहुन्छ,’ उनले भने, ‘अन्तिममा खाजा खुवाइन्छ र आराम गर्न पठाएर घरघर पुर्याइदिन्छौं ।’ बेलाबेला बाहिरबाट भजन र गायन मण्डली समेत बोलाउने गरिएको उनले बताए ।
बृद्धबृद्धालाई हरेक दिन फरक खाजा खुवाइन्छ । पकाएर खुवाउने व्यवस्था भएकाले केन्द्रमा फापर, मकै, गहुँ, चामलको पिठोबाट बनाएका रोटी, खिर, उपमा, सुजी, दलिया, इडली साम्बरलगायत खाजा खुवाउने गरिन्छ ।
उनीहरूलाई पिउनका लागि सादा, पुदिना, धनियाँ, फलफूल, तरकारी, कागती मिसाएको पानी पिउन दिने व्यवस्था छ । शुक्रवार अन्य स्थान भ्रमणमा लैजाने, स्वास्थ्य परीक्षणका लागि चिकित्सक बोलाउने, कसैलाई बोलाएर प्रेरणामूलक सन्देश दिन लगाउने समेत गरिएको पाण्डेले बताए । फरक ठाउँका मानिस जम्मा भएर परिचित भएपछि परिवार नै हुने गरेको उनको भनाई छ ।
‘यहाँ आएका सबै जना खुसी हुनुहुन्छ । हामी उहाँहरूको खुसीमा आनन्दित छौँ,’ उनले भने । यो केन्द्रलाई २०७७ देखि नै निर्माण गरिए पनि गत कात्तिकबाट पूर्ण सञ्चालनमा भने ल्याइएको अध्यक्ष पाण्डेले जनाए । सार्वजनिक जमिनलाई प्रयोगात्मक बनाउन सरकारी निकायबाट नै स्वामित्व प्राप्त गरी १८ कट्ठामा श्रृंगेश्वरधाम मन्दिर, ज्येष्ठ नागरिक मिलन केन्द्र र छोरी शिक्षा आवास रहेको छ ।
केन्द्रमा ५ लाख रुपैयाँ दिएका विशिष्ट सदस्य ७ जना छन् भने १ लाख ११ हजार दिएर सदस्य बनेका १ सय ५६ जना छन् । अन्य कहीँबाट त्यत्ति धेरै सहयोग नआइसके पनि विस्तार गर्दै लैजाने क्रममा सहयोगको याचना गरिने पाण्डेको भनाई छ । उनले मिलन केन्द्रका लागि ६ तले भवन बनाएर ज्येष्ठ नागरिकका लागि ध्यान, व्यायामशाला, औषधि कक्ष, आराम कक्ष सबै बनाउने तयारी भइरहेको बताए ।
अध्यक्ष पाण्डेले अहिलेसम्म आजीवन सदस्यता शुल्कबाट जुटेको आम्दानीले खर्च व्यवस्थापन भइरहेको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले स्थानीय सरकार सञ्चालन ऐनमै ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने प्रावधान अनुसार केन्द्रलाई सहयोग गर्दै आइरहेको बताए ।
स्थानीय सरकारले पूर्वाधारमा मात्र लगानी केन्द्रित गरी सामाजिक विकासलाई बेवास्ता गरिरहेको आरोप लागिरहेकाले समग्र क्षेत्रको सन्तुलित विकासका लागि नगरपालिकाले लगानी गरिरहेको उनले बताए । एकीकृत सेवा व्यवस्थापनको अवधारणा अनुरूप नगरपालिकाले प्रत्येक वर्ष नीति तथा कार्यक्रम र वार्षिक बजेट मार्फत यस कार्यलाई प्राथमिकतामा राख्दै आएको बताए ।
उनले भने, ‘युवापुस्ता बिदेसिँदो क्रममा रहेका र ज्येष्ठ नागरिकको पालनपोषण र व्यवस्थापन चुनौतीपूर्ण भइरहेका बेला उहाँहरूले समाज र राष्ट्रको विकासमा खर्च गरेको ऊर्जाशील समय र स्रोतको लगानीको कदर गर्दै नगरपालिकाले यो कार्यलाई प्राथमिकतामा राखेको हो ।’
