नेपालगन्ज — नेपालगन्जमा सम्पन्न भएको नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा बाँकेका मोहम्मद हारुन हलवाई निर्वाचित भएका छन् ।
एमालेनिकट नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं राष्ट्रिय महाधिवेशनले हलवाईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
हलवाईको अध्यक्षतामा सर्वसम्मत रुपमा निर्वाचित भएको संगठनको नयाँ कार्यसमितिको उपाध्यक्षमा तैयब हुसैन, महिला उपाध्यक्षमा सजिदा सिद्धिकी र महासचिवमा राज मोहम्मद अन्सारीलाई चयन गरिएको छ ।
सोही प्रकारले उपमहासचिवमा जबुल मियाँ र सचिवहरुमा अब्दुल करिम खान, सुलेमान मियाँ, हलिम खान र रियासत अलिसहित केन्द्रीय सदस्यहरु गरेर ६५ सदस्यीय समितिको चयन गरिएको मुस्लिम इत्तेहाद संगठनले जनाएको छ ।
केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा पूर्वअध्यक्ष तथा सांसद सेराज अहमद फारुकीलाई चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
एमालेनिकट नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन शनिबारदेखि नेपालगन्जमा सुरु भएको थियो । महाधिवेशनमा देशभरिबाट ६ सयभन्दा बढी मुस्लिम प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको थियो ।
