१० किलोमिटर ड्रेन निर्माण सकियो, तीन महिनामा ६ प्रतिशत भौतिक प्रगति
बुटवल — बुटवल–गोरुसिंगे सडक खण्ड सडक विस्तारको काम धमाधम भइरहेको छ । सडक विस्तारका लागि सम्झौता भएको झन्डै तिन महिनामा ६ प्रतिशत भौतिक र झन्डै २ दशमलव ५ प्रतिशत आर्थिक प्रगति देखिएको छ ।
सडक विस्तारका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवाले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेका हुन् । गत असारमा भएको ठेक्का सम्झौतामा कात्तिक ४ गतेबाट सम्झौता लागु हुने उल्लेख छ । तर, रुख काट्ने र विद्युत लाइन विस्तारको झन्झटले निर्माण कम्पनीले माग दोस्रो साताबाट काम सुरु गरेको थियो । झन्डै तिन महिनामा ६ प्रतिशत भौतिक प्रगति भएको हो । 
आयोजना प्रमुख इञ्जिनियर कुलशता न्यौपानेका अनुसार तिन महिनामा सडक किनारका ७ हजार १ सय बढी रुख कटान, विद्युत्को पोल स्थानान्तरणको काम सकिएर अहिले सडक विस्तारका लागि पुल, कर्ल्भट निर्माण र वालको काम धमाधम भइरहेको छ । ‘आयोजना अर्न्तगत ३० सडक पुल निर्माण गर्नुपर्ने छ, त्यसमध्ये १० वटा पुलको फाउन्डेसन निर्माणको काम पूरै सकिएको छ,’ उनले भनिन्, ‘मुख्य समय लाग्ने फाउन्डेसनको काम सकिएपछि अब वर्षातको समयमा पनि धमाधम पुल निर्माणको काम हुनेछ ।’ त्यस्तै सडक किनारमा फुटपाथ र सवारी साधनका लागि सडक छुट्याउनका लागि राखिने कर्भ स्टोर पनि ३५ हजार निर्माण भइसकेको र १० किलोमिटर यार्ड ‘ड्रेन’ निर्माण सकिएको उनले बताइन् ।
परियोजनाले कपिलवस्तुमा फिल्ड कार्यालय स्थापना गरेर काम गर्दै आएको छ । पहिलो चरणमा बुटवलदेखि गोरुसिंगे खण्डको रूपन्देहीमा ३० किलोमिटर र कपिलवस्तुमा २० किलोमिटर सडक विस्तार भइरहेको छ । दोस्रो चरणमा गोरुसिंगेदेखि चन्द्रौटासम्मको १९ किलोमिटर खण्डमा काम हुनेछ । सडक आयोजना कार्यालयका अनुसार रूपन्देहीमा २० वटा र कपिलवस्तुमा १० गरी निर्माण गर्नुपर्ने ३० वटा पक्की पुलमध्ये अहिलेसम्म रूपन्देहीका ६ वटा र कपिलवस्तुका ४ स्थानका पक्की निर्माणको काम धमाधम भइरहेको छ । रिटेनिङ वाल र कल्भर्ट निर्माणको काम पनि तीव्र भइरहेको छ । १ सय ४९ कल्भर्ट र ६ वटा अन्डर पास/ओभर पास निर्माण हुनेछन् । यो सडक सहरी क्षेत्रमा ५०, सहरोन्मुख क्षेत्रमा ३७ र जंगल क्षेत्रमा २४ मिटर चौडाइको बन्नेछ ।
आयोजनाका कपिलवस्तुका साइट इञ्जिनियर जीगेसप्रसाद चौधरीका अनुसार ५० किलोमिटर सडक अन्तर्गत ६ वटा भिओपी अन्डर पास हुने छन् । चार लेनको बाटो सिधा जाने र सर्भिस लेनको सडकमार्फत अन्डर पासबाट ओहोरदोहोर हुने उनले बताए । बुटवलको बेलबास, नयाँगाउँ, तामनगर चोकमा यस्ता अन्डरपास बन्ने छन् । सैनामैनाको मुर्गिया र कपिलवस्तुको चार नम्बर बजारमा पनि अन्डरपास निर्माण गरिने उनले बताए । ‘कल्भर्ट निर्माण सकिएपछि अन्डरपास निर्माणको काम सुरु हुनेछ,’ उनले भने, ‘त्यसपछि आकाशे पुलको काम सुरु हुनेछ ।’ पैदलयात्रुका लागि १२ वटा अन्डरपास र ११ वटा आकाशे पुल निर्माण गरिने उनले बताए ।
सडकको माघ ११ गते उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सडक विस्तार कार्यको शिलान्यास गरेका थिए ।
बुटवल–नारायणगढ सडक विस्तारका क्रममा धुलो उडेर स्थानीयवासी र यात्रुलाई भएको सास्तीको अनुभवपछि इन्जिनियरहरु बुटवल गोरुसिंगे सडकमा विस्तार हुने नयाँ सडकको सबै कामसकिएपछि मात्र पुरानो सडक भत्काउने गरी योजना बनाएर काम गरिएको इन्जिनियर न्यौपानेले बताइन् । ‘पहिला विस्तार हुने एकतर्फको सडकको सबै काम सकेर कालोपत्रेको काम भएपछि मात्र अर्को तर्फको सुरु गर्छौं,’ उनले भनिन्, ‘त्यसपछि मात्र बीचको कालोपत्रे भत्काउने गरी काम भइरहेको छ ।’
बुटवलदेखि चन्द्रौटासम्म एसियाली विकास बैंकको ऋण सहयोगमा २७ करोड ५० लाख अमेरिकी डलर (झन्डै ३५ अर्ब) लागतमा ६९ किलोमिटर सडक अब ४ लेनमा विस्तार हुनेछ । पहिलो चरणमा बुटवलदेखि गोरुसिंगेसम्मको झन्डै ५० किलोमिटर सडक निर्माण गर्न १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँमा सम्झौता भएको छ । १९ किलोमिटर दुरीको गोरुसिंगे चन्द्रौटा खण्डमा दोस्रो चरणमा निर्माण गरिनेछ । दोस्रो चरणको ठेक्का र बुटवलको तिनाउमा सिग्नेचर पुलका लागि पनि विश्व बैंकसँग सम्झौता भइसकेको छ ।
