नेपालगन्ज — भेरी अस्पतालमा आइतबारदेखि जलन वार्डबाट सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विङ्गको उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका हुन् ।
मन्त्री पौडेलले सिकलसेल र थालेसिमियाका पीडितहरुलाई संक्रामक रोगबाट जोगाउन भेरी अस्पताललाई निःशुल्क खोपसमेत हस्तान्तरण गरेका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटालगायतको उपस्थिति थियो ।
अस्पतालको नयाँ भवनमा ६ शय्याको जलन वार्ड र १४ शय्याको सर्जिकल विङ्ग सञ्चालनमा आएको छ । यससँगै अब अग्निपीडित बिरामीको उपचारमा सहजता आउने जनाइएको छ।
यस्तै स्वास्थ्य सचिव डा. देवकोटाले मन्त्रालयले स्वास्थ्य क्षेत्रको विस्तार र विकासका लागि ध्यान दिएर काम गरेको उल्लेख गरे । पछिल्लो समय मन्त्रालयले अस्पतालको सेवा विस्तारसँगै जनशक्ति र उपकरण व्यवस्थापनमा पनि ध्यान दिइएको उनको भनाइ छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएका सुधार र उपलब्धिबारे जानकारी दिएका थिए । त्यसक्रममा उनले १३ वटा सेवा विस्तार गरिएको बताए ।
‘सीमित स्रोत साधनकाबीच आवश्यकताका आधारमा हाम्रा सेवाहरुलाई विस्तार गराउने काम गरिरहेका छौं,’ उनले भने, ‘अस्पतालमा आउने बिरामी उपचारका लागि फर्किन नपरोस् भन्ने हाम्रो चाहना हो ।’
