गुल्मी — गुल्मीमा तीनपटक म्याद थप्दा पक्की पुल निर्माण अधुरै रहेको छ । एक वर्षमा बनिसक्नुपर्ने पुल चार वर्षसम्म अलपत्र बनेको हो । इस्मा गाउँपालिका-५ कुखुरे खोलामा बन्ने पुलका लागि २०७७ माघ २१ मा सम्झौता भएको थियो । उक्त पुल २०७८ माघ १७ मा सम्पन्न हुनुपर्ने थियो ।
निर्माणको काम रोकेर व्यवसायी सम्पर्कविहीन भएपछि पक्की पुल बन्ने आशा बोकेका स्थानीय बासिन्दा निराश बनेका छन् । पुल नबन्दा वर्षाका बेला जोखिम मोलेरै यात्रा गर्नुपर्ने स्थानीय मुक्तबहादुर महताराले बताए । ‘पसल जान पुल तर्नैपर्ने अवस्था छ,’ उनले भने, ‘अहिले पुल बन्ने आशा पनि हराउँदै गएको छ ।’ अर्का स्थानीय हिरा जिसीले आवतजावतमा सास्ती भइरहेको गुनासो गरे । ‘बर्खामा निकै सास्ती भएको छ,’ उनले भने, ‘काम रोकेरै ठेकेदार गएपछि पुल अलपत्र छ ।’
पुल निर्माणका लागि सडक पूर्वाधार कार्यालय तम्घास गुल्मी र आत्रेय भुसाल बस्नेत जेभी काठमाडौंबीच २०७७ माघ २१ मा एक वर्षभित्र सक्नेगरी सम्झौता भएको सडक पूर्वाधार कार्यालयका प्रमुख इन्जिनियर सचितानन्द चौधरीले बताए । ‘पटकपटक म्याद थप गरेर पनि पुल निर्माणको काम भएन,’ उनले भने, ‘अब अर्को सहमति गरेर पुनः ठेक्का खुल्छ ।’
पहिलो पटक तोकिएको मितिमा काम सम्पन्न हुन नसकेपछि अन्तिम पटक पुनः २०८१ असोज ३० मा सम्पन्न गर्ने गरि तीनपटक म्याद थपिएको थियो । तर पनि काम नभएपछि ठेक्का तोड्ने स्थितिमा कार्यालय पुगेको हो ।
निर्माणाधीन पुलको दुवैतर्फका पिल्लर बनेका छन् । त्यो बाहेकको अन्य काम अलपत्र छ । कुल २५ मिटर लम्बाइ रहेको पक्की पुल भ्याटबाहेक कुल २ करोड ४३ लाख रुपैयाँमा निर्माण गर्नेगरी सम्झौता भएको थियो । पुलको ५० प्रतिशत भौतिक प्रगति र ४५ प्रतिशत वित्तीय प्रगति भएपछि निर्माण व्यवसायी सम्पर्कविहीन भएको बताइएको छ ।
पुल निर्माणले गति लिन नसक्दा स्थानीय नागरिकले दुखः झेल्नुपरेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । ‘काम नभएपछि हामीले पटकपटक कार्यालय र निर्माण कम्पनीलाई ताकेता गरेका थियौं,’ उनले भने, ‘निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि अहिले कार्यालयले कारबाही सिफारिस गरेको छ ।’
