भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण 

वैशाख २१, २०८२

रुपा गहतराज

Distribution of Land Ownership Certificates to Landless Dalits and Squatters

नेपालगन्ज — बाँकेमा कोहलपुरका भूमिहीन दलित र सुकुम्बासीलाई शनिबारदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । कोहलपुर नगरपालिकामा शनिबारदेखि जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रम सुरु गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सो नगरपालिकाका वडा नं १ का भूमिहीन दलित खड्के दमाईलाई प्रमाणपत्र हस्तान्तरण गरेर कार्यक्रमको थालनी गरे । 

पहिलो चरणमा ७१ जना भूमिहीन, दलित सुकुम्बासीले जग्गाधनी पूर्जा पाएका छन् । त्यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई जग्गा प्राप्तिमा कुनै शुल्क नलाग्ने बताए ।

उनले प्रदान गरिएको जग्गा सम्बन्धित व्यक्तिको नभई अन्यको भएको पाइए पूर्जा जफतका साथै दोषीलाई कडा कारबाही हुने बताए । स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि अधिकार दिइएको उल्लेख गर्दै उनले स्थानीय तहलाई असार मसान्तसम्ममा वर्गीकरणको सबै काम पूरा गर्न आग्रह गरे। 

‘सबै पालिकाले जग्गाको वर्गीकरण असार मसान्तसम्म गरेर पठाउनुपर्ने हुन्छ,’ उनले भने, ‘अवधि पूरा भएर पनि आएन् भने जग्गाको किनबेच र कित्ताकाट बन्द हन्छ ।’

सुकुम्बासी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले सुकुम्बासी समस्या समाधानका लागि सरकार क्रियाशील भएर लागेको बताए । बाँकेमा हालसम्म ५४ हजार हाराहारीमा पूर्जाका लागि आवेदन परेको छ । 

बाँकेका ८ वटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि फारम दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार कोहलपुर नगरपालिकाबाट १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकाबाट १२ हजार ५२३, बैजनाथ गाउँपालिकाबाट १० हजार ११२, खजुरा गाउँपालिकाबाट पाँच हजार २५८, नेपालगन्ज उपमहानगरपालिकाबाट तीन हजार ४२, जानकी गाउँपालिकाबाट दुई हजार ८१० र सबैभन्दा कम नरैनापुर गाउँपालिकाबाट दुई हजार ३४५ वटा आवेदन फारम दर्ता भएका छन् ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully