पर्यटकको रोजाइ बन्दै पाल्पा ख्याहाको लिस्ने भीर

वैशाख २०, २०८२

माधव अर्याल

Lisne Bhir of Palpa Khyaha is becoming the choice of tourists

पाल्पा — दाँया बाँया ठूलो भीर । भीरको बीचमा हिमालजस्तै डाँडा । यही डाँडा पहाडबाट देखिने मनोरम दृश्यले सबैलाई लोभ्याउने गर्छ । २५/३० वर्षअघिसम्म यही डाँडा भएर हिँड्ने बटुवा लिस्नोबाट ओर्लनुपर्ने थियो । त्यही लिस्नोमा चढेर अर्गली, रिडी, ऋषिकेश र गुल्मीका विभिन्न भेग जाने मुलबाटोसमेत भएकाले यो भीर डाँडाको नाम नै ‘लिस्ने भीर’ रहन गयो ।

तर अहिले यो बाटो बटुवा हिँड्न छाडेपछि लिस्नो पनि मासियो । पाल्पाको रिब्दिकोट गाउँपालिका–१, ख्याहामा पर्ने यही लिस्ने भीर एडभेन्चर पर्यटकको रोजाइ बन्दै गएको छ । पछिल्लो समय फोटो खिच्नका लागि विभिन्न संरचना बनाइएकाले यसलाई गाउँबासीले सेल्फीडाँडा नाम राखेका छन् । वडाध्यक्ष चिरञ्जीवी पोखरेलका अनुसार केही वर्षयता आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । 

‘बाबुबाजेहरु यही लिस्ने भीरबाट ओरालो झेर रिडी, ऋषिकेश र गुल्मीका विभिन्न भागमा जाने गर्नुहुन्थ्यो,’ उनले भने, ‘अहिले अब यही ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना अघि बढेको छ ।’ उनका अनुसार यस्तो खालको प्रकृतिले दिएको अन्यत्र ठाउँ नभएको जस्तो लाग्छ । प्रकृतिले फरक ढंगको डाँडा निर्माण गरिदिएकाले सबैले मन पराउने गरको उनको दाबी छ ।  

Lisne Bhir of Palpa Khyaha is becoming the choice of tourists

एडभेन्चर मन पर्नेका लागि उपयुक्त गन्तव्य हो । फरक खालको भौगोलिक अवस्थाले पनि आन्तरिक पर्यटकको रोजाइ बनेको छ । स्थानीय सरकारले आन्तरिक पर्यटकलाई लक्षित गरेर सेल्फी डाँडासम्म सहजै पुग्न सक्नेगरी बाटो निर्माण गरेको छ । प्रतीक्षालय बनेको छ । खानेपानी, शौचालय निर्माण गरको छ । बुद्धको मूर्तिसमेत राखिएको छ । रेलिङ निर्माण गरेर त्यहाँ पुग्ने पर्यटकलाई सुरक्षित गराइएको छ । ‘दुवैतर्फ ठूलो भीर भएकाले यसमा सुरक्षाको प्रबन्ध गर्नैपर्ने अवस्था छ,’ स्थानीय सञ्जय पाँडे मगरले भने, ‘जे काम भएका छन् अझै धेरै गर्न बाँकी छ जस्तो लाग्छ । सायद बजेट प्राप्त हुनासाथ बिस्तारै गर्ने होला ।’

Lisne Bhir of Palpa Khyaha is becoming the choice of tourists

वडाध्यक्ष पोखरेलका अनुसार चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ५० लाख बजेट लिस्नेभीर (सेल्फी डाँडा) क्षेत्रलाई पर्यटकीय विकास गर्न विनियोजन गरेको छ । नजिकैको छत्रदेवालय क्षेत्रदेखि लिस्ने भीरसम्म भौतिक संरचना गर्ने गरी काम अघि बढेको छ । सय वर्षअघिको छत्र देवालयमा विभिन्न भौतिक संरचना बन्ने छ । वडाध्यक्ष पोखरेलका अनुसार सिँढी बनाउने, लिस्नो राख्ने, रेलिङ व्यवस्थित गरिनेछ । छत्रदेवालयमा पिकनिक स्पट निर्माण, शौचालय, झुला, बाघ, मृगका मूर्ति बनाउने काम अघि बढेको छ । पौडी पोखरीसमेत बनाउने योजना छ । 

Lisne Bhir of Palpa Khyaha is becoming the choice of tourists

सेल्फी डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरी स्थानीय सरकारले काम अघि बढाएको उनले बताए । पर्यटक आकर्षित भइरहँदा होमस्टे सञ्चालन गर्दै स्थानीयलाई आयआर्जनसँग जोड्ने योजना बनाउन स्थानीय रामप्रसाद न्यौपानेले बताए । ‘पर्यटकीय गन्तव्य बनाइरहँदा आयआर्जनलाई पनि जोड्न सकियो भने पक्कै यसलाई व्यवस्थित गर्न सकिन्छ,’ उनले भने, ‘पर्यटकीय क्षेत्र बनाउने हो भने यहाँका बासिन्दाले पनि फाइदा लिन सक्छन् ।’ दैनिक ४०/५० जना आन्तरिक पर्यटक र बिदाका दिनमा सयभन्दा बढी पुग्ने गर्छन् । 

सेल्फीडाँडा अर्थात् लिस्ने भीरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके पर्यटन विकास र आयआर्जनमा समेत टेवा पुग्ने पूर्व वडाध्यक्ष विष्णु गैरेले बताए । उनका अनुसार केही वर्षअघिसम्म सुनसान सेल्फीडाँडा विस्तारै पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ पाल्पाको तानसेनदेखि रिब्दिकोट गाउँपालिकाको हार्थोक बजार हुँदै देउराली भएर पुगिन्छ । सवारी साधनमा एक घन्टा लाग्छ । यहाँ पुगिसकेपछि पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल रुरु क्षेत्र, रिडी, अर्गली, गुल्मी लगायत पहाड र हिमश्रृंखला दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समयमा आन्तरिक पर्यटनले विस्तारै गति लिइरहेका बेला स्थानीय सरकारले विशेष योजना बनाइ यस्ता पर्यटकीय क्षेत्रलाई अघि बढाउने योजनामा रहेको गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले बताइन् । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके पर्यटन विकास र आयआर्जनमा समेत टेवा पुग्ने देखिएकाले पनि योजना बनाएर अघि बढ्ने उनले बताइन् ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully