पाल्पा — संविधान, ऐन र कानुनमा व्यवस्था भएका सुविधा माग गर्दै पाल्पाका श्रमिकले १२ बुँदे मागपत्र बुझाएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा पाल्पाको बगनासकाली श्रमिक महिला सञ्जालले पालिकामा मागपत्र बुझाएको हो ।
गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल, प्रवक्ता टीका थापालाई मागपत्र बुझाएको सञ्जालकी संयोजक तिला रानाले बताइन् ।
मागपत्रमा स्थानीय तहले श्रमिकहरुको यथार्थ छानबिन तथा वर्गीकरण गरी गरिएको पहिचानको आधारमा श्रमिकको पञ्जीकरण गरी श्रमिक कार्डको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । गाउँपालिकाले श्रमडेस्क कार्यविधि तयार गरी श्रमडेस्क लागू गर्नुपर्ने र नियमित श्रम अनुगमनको व्यवस्था हुनुपर्ने माग छ । श्रमिकले न्यायोचित तथा समान कामको समान ज्याला सुनिश्चित गर्नुपर्ने कार्य घण्टा निश्चित हुनुपर्ने साथै ओभरटाइमको ज्याला सुनिश्चितको माग छ । कार्यस्थलमा हिंसा भएमा तुरुन्त सुनुवाई हुनुपर्ने माग रहेको बसन्ती कंवर मगरले बताइन् ।
श्रमिकको दुर्घटना तथा स्वास्थ्य बिमा स्थानीय तहले गरिदिनुपर्ने वा श्रमिक विमित भएको सुनिश्चित गर्नुपर्ने र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग गरेका छन् । सरकारी योजनाका काममा स्थानीय श्रमिकलाई पहिलो प्राथमिकता राख्नुपर्ने ज्याला ठगी गर्ने रोजगारदातालाई उचित कारबाहीको व्यवस्था गर्न श्रमिकले माग गरेका पोखराथोककी विष्णु गैरेले बताइन् ।
श्रमिकहरुले कार्यस्थलमा प्राथमिक उपचारको व्यवस्था, बिरामी परेमा उपचारका व्यवस्था हुनुपर्ने, महिलामैत्री कार्यस्थल, पहिचान भएका श्रमिकलाई सुत्केरी पोषण भत्ता, चाडपर्व मनाउन पारिश्रमिक साथै ६ दिन काम गरे एक दिनको तलब व्यवस्था हुनुपर्नेसमेत माग गरेको बराङ्दीका मजदुर यज्ञप्रसाद न्यौपानेले बताए । श्रमिक महिलालाई सीप विकास तालिमको व्यवस्था गरी श्रमिक महिलालाई नियमित काम नपाएमा जीविकोपार्जजनका लागि व्यवसाय सञ्चालन गर्न सहयोग हुनुपर्ने र सबै वडाहरुले श्रमिक महिला लक्षित कार्यक्रम बनाएर लागू गर्नुपर्ने माग छ ।
बगनासकाली गाउँपालिकामा ९ वटै वडामा श्रमिक महिला सञ्जाल गठन भई श्रमिकको तथ्यांकसमेत संकलन भइसकेको सञ्जालकी संयोजक श्रमिक अभियन्ता अनिता गाहाले बताइन् ।
ग्रामीण भेगमा काम गर्ने श्रमिक महिलाले पुरुषको तुलनामा समान कामको असमान ज्यालाको पीडा वर्षौदेखि भोग्दै आएको चिर्तुङधाराकी श्रमिक विमला गाहा बताउँछिन् ।
बगनासकाली गाउँपालिका र गैरसरकारी संस्था सामाजिक स्रोत विकास केन्द्र नेपालले पालिकाका ९ वडामा गतवर्ष गरेको सर्वेक्षणले ग्रामीण भेगमा कृषि क्षेत्रमा कार्यरत मजदुरमा महिला र पुरुष श्रमिकबीच दैनिक ज्यालामा विभेद भेटिएको थियो । श्रमिक महिलाले आफूहरुले दैनिक काम नपाउने, काम पाए पनि ज्यालामा विभेद गर्ने, तोकिएको समय भन्दा बढी घण्टा काममा खटिनुपर्ने लगायतका समस्या रहेको बगनासकाली गाउँपालिक–२, पोखराथोककी जमुना विकले बताइन् ।
महिलाले पनि पुरुषले जत्तिकै काम गर्न सक्ने भएपनि महिलाले काम गर्न सक्दैनन् भनेर गाहृो काम गर्न नदिने समस्या रहेको बगनासकाली–१, की श्रमिक महिला सीता कुमालले बताइन् । ज्यालामा पनि आधा नै फरक पार्ने समस्या रहेको छ । महिलालाई सीपयुक्त, श्रममा रुपान्तरण, कार्यक्रम र बजेट बनाएर कार्यान्वयन गर्न पालिकाले सक्नुपर्नेमा बगनासकाली गाउँपालिका–२, की मधु गैरेले बताइन् ।
महिला श्रमिकको ज्यालादरमा पनि भिन्नता रहेको छ । महिलाले ३ सयदेखि ६ सयसम्म दैनिक ज्याला पाए पनि पुरुषले भने ५ सयदेखि १ हजारसम्म पाउने गर्छन् । तर गाउँमा परेका सरकारी योजनामा श्रम गर्न पहुँच आवश्यक भएको, काम गर्दा चोटपटक लागे पनि बीमा व्यवस्थापन गर्न नसकेको, महंगी बढे पनि ज्याला नबढेको समस्या बढी रहेको सामाजिक श्रोत विकास केन्द्र नेपालका कार्यक्रम संयोजक पिताम्बर बस्यालले बताए ।
श्रमिक महिलालाई सम्मान
बगनासकाली गाउँपालिकाले श्रमिक दिवसका अवसरमा पालिकाभित्रका ६५ जना कृषि तथा निर्माणका क्षेत्रमा काम गर्ने श्रमिकलाई सम्मान गरेको छ । गाउँपालिकाले नौ वटै वडाका श्रमिकलाई पालिकामा भेला गरेर नगदसहित सम्मान गरेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध भएका श्रमिकलाई गाउँपालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल, प्रवक्ता टिका थापा लगायतले सम्मान गरे । गाउँपालिकाकी अध्यक्ष चिदीले श्रमिकको मागलाई सकेसम्म सम्बोधन गर्ने र नसक्ने विषयहरुलाई संघीय र प्रदेश सरकारलाई अनुरोध गर्ने बताइन् । उपाध्यक्ष पाठकले साधन र स्रोतको हिसाबले सबै कुरामा ध्यान नपुगेको र बजेटका हिसाबले काम गर्न नसकेको सुनाए ।
