दाङ — तुलसीपुरमा बुधबार अपराह्न नवजात शिशुको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका-१४ स्थित बेलन्याडाँडा नर्सरीमा ९ महिना पुगी जन्मेको बालिकाको शव भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जानकारी पाएलगत्तै प्रहरी निरीक्षक विनोदराज खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगी लास पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाएको इलाका प्रहरी तुलसीपुरले जानकारी दिएको छ ।
प्रारम्भिक अध्ययनमा शव २३ दिनअघि खाडलमा गाडेको जस्तो देखिएको र कुनै जंगली जनावरले बाहिर निकालेको हुनसक्ने प्रहरी निरीक्षक खत्रीले बताए । शिशु कसले किन फालेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
