काठमाडौँ — गोरु काटेको आरोपमा स्याङ्जा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१२ पोल्काचौरस्थित सिम्लेका ४० वर्षीय डम्बरबहादुर गुरुङ रहेका छन् । प्रहरीका अनुसार गुरुङले आफ्नै घरमा पालेको गोरुलाई घर नजिकै बारीमा लगेर काटेका थिए ।
फलामको घन प्रहार गरी गोरुलाई मारेपछि गुरुङले मासुको टुक्रा–टुक्रा बनाएर घरमा ल्याएको स्याङ्जाका निमित्त प्रहरी प्रमुख डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए । उनकाअनुसार मंगलबार घरको आँगनमा त्रिपालभित्र मासु लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले गुरुङलाई घरबाटै पक्राउ गरेको हो ।
गुरुङसँगै प्रहरीले एउटा प्लास्टिकको बोरा, एउटा फलामको दाउ, दुई वटा चक्कु र एटा हँसिया, फलामको छुरी एउटा र फलामको धार बनाउन प्रयोग गरिने एउटा स्लिप ढुंगा बरामद गरेको डीएसपी पौडेलले बताए । गुरुङलाई बुधबार जिल्ला अदालत स्याङ्जामा पशुपंक्षीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको प्रहरीले बताएको छ ।
