लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक: सचिवहरुको जिम्मेवारी हेरफेर

वैशाख १७, २०८२

दुर्गालाल केसी

Lumbini State Council of Ministers meeting: Change of responsibilities of secretaries

दाङ — लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बुधबार सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर लगायतका तीनवटा महत्त्वपूर्ण निर्णयहरु गरेको सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।

बैठकले प्रदेश सचिवहरुको जिम्मेवारी तोक्नुका साथै आर्थिक वर्ष २०८२/०८३ मा स्थानीय तहमा बाँडफाँट हुने सवारी साधन करको अनुमानित सीमा पठाउने र प्रदेशमा जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको सचिवहरुको जिम्मेवारी तोक्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । उक्त निर्णयअनुसार बसन्त प्रसाद कोइरालालाई सामाजिक विकास मन्त्रालय र प्रमोद झालाई वन तथा वातावरण मन्त्रालयको सचिवका रुपमा जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको आर्थिक वर्ष २०८२/०८३ मा स्थानीय तहमा बाँडफाँट हुने सवारी साधन करको अनुमानित सीमा पठाउने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।

यसैगरी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको प्रवक्ता पन्थीले बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully