तिलोत्तमा — नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा केशर खड्का निर्वाचित भएका छन् । प्रजातान्त्रिक वन प्राविधिक संघका तर्फबाट उम्मेदवार बनेका खड्काविरुद्ध उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
निर्वाचन समितिका अनुसार संघको उपाध्यक्षमा सूर्यप्रसाद मैनाली, दुईजना सचिवमा रोबर्ट महरा र अनुपा सिलवाल तथा कोषाध्यक्षमा राघवेन्द्र प्रताप चौधरी सर्वसम्म निर्वाचित भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यमा नवराज शाही, नवीन पाण्डे, भावना रिजाल, कविता गैरे, एजाज अन्सारी र कमला सुनार निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशमा १६ सय जना सरकारी कर्मचारीसहित ७ हजार बढी वन प्राविधिक मतदाता छन् ।
प्रदेशमा सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनलाई थप सुदृढ बनाउने र यसबारे बहस पैरवी चलाउन आफ्नो कार्यकाल लागिपर्ने खड्काले बताए । वन विज्ञहरूलाई योग्यताको प्रमाणपत्र वितरण गर्न नेपाल वन परिषद् केन्द्रमा स्थापना गर्न संघले प्राथमिकतामा राखेर काम गर्ने छ’, उनले भने ।
देशको ४५ प्रतिशतभन्दा बढी हिस्सा वन क्षेत्र हुँदाहुँदै काठ, दाउरा जंगलमै सडेको र वार्षिक अर्बौं रुपैयाँको काठ विदेशबाट आयात गर्नु पर्ने बिडम्वना भएकाले यसलाई रोक्न भूमिका खेल्ने खड्काले जनाए ।
